समाचार

तीन दिने नेपाल बसाईमा आउँदै चिनियाँ विदेशमन्त्री

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ्ग यी आइतबारदेखि तीन दिने नेपाल भ्रमणमा आउँदैछन् । परराष्ट्र मन्त्रालयले शुक्रबार औपचारिक रुपमा विदेश मन्त्रीको नेपाल भ्रमणको तालीका सार्वजनिक गरेको छ ।

यससँगै उनी आउने पक्का भएको हो । उनी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल आउने लागेका हुन ।

विदेशमन्त्री यी सेप्टेम्बर ८ देखि १० सम्म नेपालमा रहने छन् । यसबीचमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटवार्ता गर्ने भएका छन् ।

सोमबार परराष्ट्रमन्त्री ज्ञवाली र विदेशमन्त्री यी नेतृत्वको प्रतिनिधिमण्डलबीच औपचारिक द्विपक्षीय वार्ता हुँदैछ । उक्त दिन परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री वाङ्गको सम्मानमा रात्रिभोज दिने भएका छन् ।

नेपाल र चीनमा एक साथ विदेश मन्त्रीको नेपाल भ्रमणबारे औपचारिक जानकारी दिइएको छ ।

यसअघि उनी आउने हल्ला चलेपनि औपचारिक जानकारी दिएएको थिएन् । उनी चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणको वातावरण बनाउन नेपाल आउन लागेका हुन् ।