अमेरिका

साकार हुँदैं अस्टिनमा सामुदायिक भवन बनाउने सपना

विश्व न्यूज संवाददाता
टेक्सस ।
टेक्सस राज्यको राजधानी अस्टिन शहर आसपास बस्ने नेपालीहरु अहिले वहुआयामीक सामुदायिक भवन बनाउन कस्सिएका छन् ।
हालसम्म नेपाली संस्थाको स्वामित्वमा अस्टिनमा सामुहिक प्रयोजनको निम्ति आवश्यक पर्ने सामुदायिक भवन छैन । जसका धार्मिक, सांस्कृतिक तथा सामुदायिक कार्यक्रमको आयोजना गर्न कठिनाई हुदैं आएको छ । नेपाली बालबालिकाका निम्ति संचालन हुदैं आएको नेपाली पाठशाला संचालनमा समेत अप्ठ्यारो पर्ने गरेको छ ।
यस कुरालाई ध्यान दिदैं अस्टिनका नेपालीहरुले अहिले सामुदायिक भवनको आवश्यकता महशुष गरी भवन बनाउनका लागि आर्थिक संकलनको काममा लागेका छन् ।
सामुदायिक भवन बनाउनको लागि बोर्ड अफ ट्रष्टी र सहयोगदाताको व्यवस्था मिलाएर सहयोग संकलनको काम अघि बढाइएको भवन निर्माण समितिका संयोजक तथा ग्रेटर अस्टिन नेपलीज सोसाइटीका पूर्व अध्यक्ष गेहेन्द्र केसीले जानकारी दिए ।
अहिले सम्म निर्मल श्रेष्ठ, विदुर खतिवडा, डा.कमल अधिकारी, कला उप्रेती, सुनील मेहता,देवराज न्यौपाने, अमृत मिश्र, भोजराज भट्ट, गेहेन्द्र केसी, पदम ठकुराठी, प्रदिप पराजुली, प्रेम पाण्डे, राज मरासिनी, शकुल कोइराला, प्रेम श्रेष्ठ र तुल्सी दुलालको परिवार वोर्ड अफ ट्रष्टी बनेको समितिले जनाएको छ । समितिले कम्तिमा ३ हजार ४ सय डलर सहयोग गर्नेलाई बोर्ड अफ ट्रष्टी, कम्तिमा १ हजार सहयोग गर्नेलाई विशेष सहयोग दाताको रुपमा राखेको छ भने कम्तिमा २ सय ५० सहयोग गरेर सहयोगदाता बन्न सकिने ग्रेटर अस्टिन नेपलिज सोसाइटीका पूर्व अध्यक्ष देवराज न्यौपानेले जनाए ।
अस्टिन आसपास वस्ने झण्डैं १५ सय परिवारवाट कम्तिमा २ सय ५० का दरले र अन्य सहयोग बोर्ड अफ ट्रष्टी र विशेष सहयोग दातावाट उठाएर करिव ५ लाख आउँदो ६ महिनाभित्र काम अघि बढाउने लक्ष्य राखिएको संयोजक केसीले जानकारी दिए ।
हालसम्म सामुदायिक भवन बनाउनका लागि २ सय ५२ जनावाट १ लाख ६८ हजार ६ सय ३१ डलर ७४ पेनीको प्रतिवद्धता भएकोमा १ लाख २ हजार ५ सय ३२ डलर ३४ पेनी संकलन भैसकेको समितिले जनाएको छ ।
भवन बनाउने अभियानमा सकेको सहयोग गर्न र हात अघि बढाउन ग्रेटर अस्टिन नेपलिज सोसाइटीका अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।