विश्व

ओमानको सलाम एयरले काठमाडौंमा दैनिक उडान घोषणा

काठमाडौं । ओमानको वायुसेवा कम्पनी सलाम एयरले अब काठमाडौंमा दैनिक उडान गर्ने भएको छ ।

यससँगै ओमनमा वैदेशिक रोजगारीमा जाने नेपाली तथा नेपाल भ्रमणमा आउने ओमाानका नागरिकलाई यात्रा सहज भएको ग्लोबल आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले बताए ।

सलाम एयरको जनरल सेल्स एजेन्ट नेपालमा आइएमई ट्राभल्सले गर्दै आएको छ । अहिले कम्पनीले नेपालमा साताको तीन उडान गर्छ ।

आगामी साताबाट दैनिक उडान शुरु भएपछि यात्रु संख्या दोब्बरले बढ्ने कम्पनीको विश्वास छ । सलाम एयरले काठमाडौं उडान शुरु गरेको १ वर्ष पुगेको छ ।

सोही अवसर पारेर सलामले नयाँ उडान बिस्तारको घोषणा गरेको हो । कम्पनीले १ वर्षको अवधिमा करीव ५० हजार यात्रु बोकेको उक्त अवसरमा जानकारी दिइयो ।

आगामी  वर्षमा यो संख्या दोब्बर बनाउने लक्ष्य कम्पनीको रहेको छ । ओमानबाट दुई वटा कम्पनीले नेपालमा उडान गर्दै आएका छन् ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सलाम एयरलाई गौतमबुद्ध विमानस्थलबाट समेत उडान बिस्तारको तयारी गर्न आग्रह गरे ।

उक्त विमानस्थल सन् २०१९ को अन्तिमबाट संचालनमा ल्याउने तयारी रहेको छ ।