समाचार

गोकर्णेश्वरमा राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस सम्पन्न

भदौ २२, काठमाडौं 

“हामी सबैको प्रण–सार्वजनिक शिक्षा प्रणालीको सवलिकरण” भन्ने मूल नाराका साथ गोकर्णेश्वर नगरपालिकाले आइतबार ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय  साक्षरता दिवस मनाएको छ । वडा नं ८ अत्तरखेलस्थित विद्या संस्कार माध्यमिक विद्यालयमा विविध कार्यक्रम गरी राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको हो । कार्यक्रममा  गोकर्णेश्वर नगरपालिकामा उत्कृष्ट ठहरिएका विद्यार्थी, शिक्षक एवं विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू सहित शिक्षा क्षेत्रमा बिशेष योगदान पुर्याउने व्यक्तिहरुलाई पुरस्कृत एवं सम्मान गरियो । प्रमुख अतिथि, प्रतिनिधि सभा सदस्य कृष्ण राई, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे लगायतले विभिन्न विधामा उत्कृष्ट भएकाहरुलाई सम्मान गर्नु भएको हो । उहाँहरुले  स्थानीय पाठ्यक्रम तयार पार्न बिशेष भूमिका खेल्ने अरुणोदय माविका प्रधानाध्यापक कृष्णप्रसाद नेपाल, वरिष्ठ समाजसेवी दीपककुमार भण्डारी लगायतलाई सम्मान गर्नुभयो । गोकर्णेश्वर नगरपालिका कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यपुस्तक लागू गर्ने मुलुककै पहिलो नगरपालिका हो । शैक्षिक क्षेत्रमा योगदान दिने स्थानीय साहित्यिक संघ संस्थाहरु अभिनव साहित्य समाज, रमेश विकल साहित्य प्रतिष्ठान, सुरभी साहित्य प्रतिष्ठान लगायतलाई पनि सम्मान गरियो । सोही अवसरमा २५ वर्षसम्म सेवा गर्ने शिक्षक शिक्षिकाहरु सहित एसईई २०७५ मा उत्कृष्ट अंक ल्याउने सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुलाई सम्मान गरियो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले आकर्षक गीत तथा नृत्य प्रस्तुत गरेका थिए । गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेको सभापतित्वमा भएको कार्यक्रममा उपप्रमुख शान्ति नेपाल, प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारी, शिक्षा–युवा तथा खेलकुद शाखा प्रमुख विजयराज आचार्य, समाजसेवी विमल ठकुरी, श्रीकृष्ण ज्योति लगायतले शैक्षिक क्षेत्रमा गोकर्णेश्वर नगरपालिका उत्कृष्ट रहेको जानकारी गराउनु भएको थियो । गोकर्णेश्वर नगरपालिकाले आगामी दिनमा समेत शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विविध कार्यक्रम संचालन गर्ने शिक्षा समितिका सदस्य अनिल पराजुलीले जानकारी दिनुभयो ।