फिचर

७३ स्थानमा चल्ने भए सुपथ पसल

काठमाडौं । सरकारले चाडबाड लक्षित गरी देशभर सुपथ मूल्यका पसल संचालन गर्ने भएको छ ।

दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले देशका ७३ स्थानमा सुपथ मूल्य पसल स्थापनाको निर्णय गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार बसेको बैठकले सुपथ मूल्य पसलको संख्या, स्थान र छुट दिने सम्बन्धमा पनि टुंगो लगाएको हो ।

मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दूग्ध विकास संस्थाले ती पसल सञ्चालन गर्ने भएका छन ।

मन्त्रालयले काठमाडौंमा ३ वटा घुम्ती पसल संचालनको योजना बनाएको छ । साल्ट ट्रेडिङले देशभर ३५, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २३ र दुग्ध विकास संस्थानले १५ वटा सहुलियत पसल सञ्चालन गर्ने गरी जिम्मेवारी तोकिएको छ ।

काठमाडौं उपत्यका भित्र कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, भक्तपुरलगायत स्थानमा ९ घुम्ती पसल संचालन गरिने भएको छ ।

काठमाडौंमा ३ वटा घुम्ती भने साल्ट ट्रेडिङले संचालन गर्ने भएको छ । उपत्यका बाहिर, बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लाहान जस्ता शहरमा साल्ट ट्रेडिङले पसल संचलन गर्ने भएको छ ।

यस वर्ष २३ भदौदेखि १६ कात्तिकसम्म चल्ने भएका छन् । सरकारले काठमाडौंमा सोमबारबाट पहिलो सहुलीयत पसल संचालनमा ल्याउदैछ ।

सहुलियत पसलमा नुन, चामल, चीनी, गेडागुडीदेखि मासुमा समेत कम मूल्य कायम हुने भएको छ ।

मन्त्रालयका अनुसार सुपथ मूल्यको पसलमा मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा दुई रुपैयाँ, मसिनो चामलमा तथा गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ तथा च्याँग्रा र खसी बोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिने योजना रहेको छ ।

डीडीसी घ्यू ५० रुपैयाँ र पनिरमा प्रतिकिलो १० रुपैयाँ छुट राखिने भएको छ । चिनीमा प्रतिकिलो ५ रुपैयाँ सहुलियत दिने तयारी सरकारको रहेको छ ।