कला / साहित्य

नेपाली मुक्तक मेला न्यूयोर्कमा सम्पन्न

न्यूयोर्क 

नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा न्यूयोर्क ज्याक्सन हाईट्सस्थित घ्याल्सुन्दो समाजको सभाहलमा नेपाली मुक्तक मेला सम्पन्न भएको छ । आईतबार ८ तारिख मध्यान्ह तिर शुरुभएको मुक्तक मेला करिव २ घण्टा चलेको थियो । अमेरिकामा पहिलो पटक भएको नेपाली मुक्तक वाचन कार्यक्रम नेपाली भाषा साहित्यको क्षेत्रमा थप आयाम भएको आयोजकको तर्फबाट साहित्यकार आनन्द श्रेष्ठले बताए । कार्यक्रममा करिब दुई दर्जन श्रष्टाहरुले आ-आफ्ना रचना बाचन गरेका थिए ।

मेलाका प्रमुख अतिथ्यता नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले गर्नु भएको थियो । विदेशमा नेपाली समुदायको पहिचान स्थापित गराउन यस्ता साहित्यिक कार्यक्रमले ठूलो महत्व राख्ने धारणा भट्टराईले राखेका थिए । नेपालबाट कार्यक्रममा सहभागी हुन आएका मुक्तक प्रतिष्ठानका महासचिव रमेश पौडेलले मुक्तक आकारमा सानो भए पनि यो लेख्न त्यति सजिलो नभएको र मोटो गद्य पुस्तकभन्दा उत्कृष्ट मुक्तक शक्तिशाली हुने अभिव्यक्ती दिएका थिए । साहित्यिक रेडियो प्रस्तोताको रुपमा ख्याति बनाईसकेका पौडेलको अभिव्यक्तीको समय कार्यक्रम थप स्तरीय महसुस गरिएको थियो । 

न्यूयोर्कका डा. तारा निरौलाले मुक्तक शक्तिशाली विधा भएको धारणा राख्नुभयो । साहित्यकार डा. मधु माधुर्यले नेपाली मुक्तकको इतिहास पुरानो भएको बताउँदै वर्तमानमा मुक्तक विधाप्रति साहित्यकारहरूको आकर्षण बढेको सकारात्मक हो भन्नु भयो । सञ्चारकर्मी शैलेश श्रेष्ठले कार्यक्रममा वाचित मुक्तकबाट आफूलाई हौसला मिलेको र आगामी दिनमा लेख्न प्रयास गर्ने बताए ।

गजलकार/मुक्तककार आनन्द श्रेष्ठले नेपाली मुक्तक विधाको विकास र विस्तारका लागि न्यूयोर्कमा आगामी दिनमा नियमित कार्यक्रम गर्ने जानकारी गराए । कार्यक्रममा नदिया लिवाङ, ज्योतिकुमार श्रेष्ठ, पद्मा लिंखा मगर, डा. गोविन्द कोइराला, रश्मि भट्ट, विनोद रोका, कुन्ती थापा, लक्ष्मी श्रेष्ठ, पुष्पा अधिकारी, किशनसिंह धामी, विजया सिंखडा, व्याकुल पाठक, अच्युत सिग्देल, शान्ता अधिकारी घिमिरे, पुनम काफ्ले, पुरुषोत्तम पन्थी, सौरभ कारञ्जित, सिर्जना शर्मा, कमला प्रसाईं, कविनविक्रम शाह, बद्री पौडेल, ज्योति पौडेल, जानुका वस्ती ढकाल लगायतका श्रष्टाहरुले आआफ्ना मुक्तक वाचन गरेका थिए । पहिलो पटक नितान्त एक बिधालाई लिएर गरिएको कार्यक्रमबाट सहभागीहरु उत्साहित र हौसिएका देखिन्थे ।