17-Nov-2019 | १ मंसिर २०७६, आईतवार

मनोबाद : त्यो दिनको भेटघाट

२४ भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


ऋतिका प्रसाई / टेक्सस

दिनहरु दौडिरहे झैं लाग्छ । अध्ययनको लागि अमेरिका छिरेको पनि लामो जस्तो लाग्न थालेको छ । वालमार्ट शपिङ्देखि लण्ड्री लगायतका सबै कामहरु आफैले समाल्नु परेपछि समय बितेको पनि पत्तै नहुने रहेछ । पढ्न र नयाँ कुरा सिक्न अत्यन्तै रुचाउने म जस्ताको लागि अमेरिकाको प्रत्यक पलले केही न केही सिकाइ रहेको प्रतित हुन्छ । दिन प्रतिदिन नयाँ भावना नपलाएको पनि होईन । आफु भन्दा कम उमेरका भाईबहिनीहरुले मरिमरी काम गरेर घण्टा घण्टामा पैसा छापेको देखेर मेरो पनि मनै त हो; लोभिदो रहेछ । तर अमेरिकाले अत्यन्त स्वतन्त्रता दिएका कारण पाइला पाइलामा होस पुर्याएर चल्नु पर्ने अवस्था रहेछ । यस्तै दिनचर्या सोच्दै थिए; एकाएक फोनको घन्टी बज्यो । फोनको घण्टी सुन्न पनि अमेरिकामा त रहर पो भैसकेछ !

“तीजको दर खाने होइन ? आऊ आज रमाइलो गर्नु पर्छ” । घर नजिकै बस्ने नेपाली म्याडमले फोन गर्नु भएको रहेछ । “हुन्छ, हवस्” भनें । एक्कासी धेरै खुसी लाग्यो । दर शब्द सुनेर यत्ति धेरै खुसी सायद पहिले कहिल्यै महसुस गरेकी थिईन । अकस्मात दिमाग भरी नेपाल सलबलायो । सायद हरेक बिद्यार्थीले चाडवाडमा यहाँ बिताउनु पर्दा नेपाललाई धेरै सम्झँदो हो ।

टेबलमा भाको घडी फटाफट नाडीमा बाँधेर म उहाँको घर पुगें । सबै नेपाली देखेर मनमा औधी आनन्द महसुस भयो । नयाँ ठाउँ नयाँ मान्छे, म अलि नर्भस नै देखिएँ होला सायद । सबै मलाई नोटिस गर्दैथिए । खासमा मेरो मनमा; अब के गर्ने हो, कसरी अगाडी बढ्ने हो, भन्ने कुरा खेलिरहेकोले गर्दा अलि चिन्तित नै देखिए कि ?  सायद त्यस्तै अनुमान गरेर उहाँ मलाइ सक्दो घुलमिल गराउने कोसिसमा हुनुहुन्थ्यो ।

“म पूर्वी पहाडको गाउँमा जन्मिएकी केटी, उहाँ भन्न थाल्नुभो… नेपालको लगभग सबै ठाउँको डाँडा काँडा देखेकी छु । कक्षा ५ देखि नै घर छोडेर पढ्न कै लागि घरबाट टाढा बस्नुपर्ने बाध्यता आइपर्यो । होमसिक केलाई भन्छ ? मलाई त्यतिबेला थाहै थिएन । तर आफ्नो गाउँमा भएजस्तै टिनको टल्कने छानो पारी डाँडामा देख्दा आफ्नै गाउँको स्कुल जस्तो लागेर निकै खुसी हुन्थें ।

एसएलसी पछी बन बिज्ञान पढ्न छात्रवृत्ती पाए लगतै ६ वर्षमा मैले बिएस्सी फोरेष्ट्री उत्तीर्ण गरें । तिमी भन्दा १५ वर्ष जेठी छु ।सरकारी बिद्यालय पढेको १० कक्षासम्म ।एकाएक ११ मा पुगेपछि अंग्रेजी किताब पढ्नु पर्दा आत्तिएकी थिएँ, अरुलाई १ घण्टा लाग्ने पाठ मलाइ ३ घण्टा लाग्थ्यो । तर पार लगाएर नै छाँडे । बिएस्सी फोरेष्ट्री पढ्दा नै मेरो बिबाह भैसकेको थियो । बिएस्सीको पहिलो सेमेस्टरको अन्तिम परिक्षाको ७ दिन पछी मैले मेरी छोरीलाई जन्म दिएकी हुँ” । उहाँको हरेक अभिव्यक्तिलाई मैले निकै सतर्कताका साथ सुन्दै थिएँ । मलाई मोटिभेट गर्न आफ्नो भोगाई सुनाउँदै हुनुहुथ्यो । उहाँ भन्दै जानुभो; “अमेरिकामा फुर्सद निकालेर अरुको दुखको अनुभूति गर्ने मान्छे बिरलै भेटिदा रहेछन् भन्ने मैले बुझेकी छु ।

बिएस्सी फोरेष्ट्री पढ्दा पढ्दै नै मैले नेपाल भन्दा बाहेक अन्तर्राष्ट्रिय सम्मेलनमा पुगेर आफुले गरेको रिसर्च पेश गर्ने मौका पाएकी थिएँ । जसले गर्दा मैले धेरै बुझ्ने र जान्ने मौका पाइसकेकी थिए । यसै कारणले गर्दा नेपाल भन्दा बाहिर गएर पढ्ने रहर जागेको थियो । तर भर्खरकी सानी छोरीले गर्दा त्यो मैले पुरा गर्न सकिरहेको थिईन । छोरी अलि हुर्किसकेपछी मैले मेरो अधुरा रहेका सपना पुरा गर्ने निर्णय गरें । पुन: आफ्नो शिक्षालाई निरन्तरता दिनका लागि MS मा छात्रवृत्ति खोजेर पढ्न शुरु गरें । सरकारी बिद्यालयमामा पढेर आएकी मेरा लागि यहाँ हरेक कुरा नयाँ थियो । अनौठो थियो । मेहनत गरे जे पनि पुरा हुन्छ नानी ! दृढ संकल्प हुनुपर्छ । मैले MS 4 GPA Maintain गरेर अमेरिकाको युनिभर्सिटीबाट पुरा गरें ।

मैले मेरो यो सफलतालाई जिवनको मूल धारा नै बनाएँ । सानो छँदा ३० वर्ष नपुग्दै पिएचडी सक्छु भनेर औला गन्ने गर्थे । MS सक्दा म ३५ बर्सकी भएछु । समय र परिस्थितिले मेरा हरेक चाहनालाइ पुरा नगरेपनि बाँच्नका लागि निकै सन्तुष्टी भने दिएको छ । त्यसमाथि छोरी मान्छेले आफ्ना केही सपनालाई कहिले समाजका लागि त कहिले परिवारका लागि कम्प्रोमाईज गर्नु नै पर्दो रहेछ । म अहिले अमेरिकाको विश्वबिध्यालयमा पढाईरहेकी छु । तिमी जस्तो नेपालबाट हजारौं सपना बोकेर आउने मान्छे देखेर गर्व महसुस गर्छु । मान्छे मात्तिनु हुदैन तर मान्छे कहिल्यै आत्तिनु पनि हुदैन । राम्रै बाटोमा हिडेकी छौ । गन्तब्य पनि राम्रै हुनेछ”  । “अब नाच्ने बेला भयो” । भनेर कसैको अवाज आयो ! खै कताबाट मलाइ ज्ञात भएन । म अझै उहाँको हरेक वाक्यलाई सुन्दै थिए । नाच्ने होइन ? सांगीतिक माहोल चर्किदै गयो । नेपाली हिन्दू नारीहरुको महान चाड, ननाची कहाँ हुन्छ ? भन्ने ठान्दै म पनि उहाँसंगै नाँच्न उठें ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार