समाचार

एनआरएनएको टाउनहल बैठक न्यूयोर्कमा 

न्यूयोर्क, अमेरिका
आगामी अक्टोबरमा नेपालमा हुन गइरहेको गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको तीन दिने विश्व सम्मेलनमा अमेरिका स्थित गैर आवासीय नेपालीको नेतृत्व र भूमिकाबारे छलफल गरिएको छ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको पूर्ब क्षेत्रीय समिति तथा न्यूयोर्क च्याप्टरको संयुक्त आयोजनामा न्यूयोर्कमा गरिएको टाउन हल बैठकमा आगामी निर्वाचनमा अमेरिकाबासी नेपालीको सबैभन्दा बढी प्रतिनिधित्व हुनुपर्नेमा जोड दिइएको छ । बैठकमा नेपाली सामुदायिक भवन निर्माणको लागि प्रारम्भिक छलफल तथा आर्थिक संकलनको सुरुवात गर्नेबारे छलफल गरिएको थियो ।
गत सेप्टेम्बर ६, मा गरिएको टाउनहल बैठकमा एनआरएनए अमेरिकाका निबर्तमान कार्यसमिति तथा च्याप्टर पदाधिकारीलाई बिदाई तथा सम्मान गर्ने बारे छलफल गरियो । कार्यक्रममा आगामी एनआरएन आइसीसीको चुनावमा अमेरिका क्षेत्रवाट उम्मेवार भएकाहरुबीच मिलेर जान जोड दिएको छ । कार्यक्रममा सहभागी उम्मेद्धारहरुले अमेरिकाबासीको प्रतिनिधित्वका लागि आफुहरु लचिलो भएको बताएका थिए ।
सामुदायिक भवन निर्माण कहाँ गर्ने, कस्तो बनाउने ? भन्नेबारे छलफल भएको छैन । बरु सुरुवातमै पैसाको आवश्यकता पर्ने भएकाले सहभागीहरुले रकम संकलनका लागि दान कबुल गरेका हुन् ।
भवन निर्माणका लागि श्रोत संकलन तथा ब्यबस्थापन जस्ता संवेदनशील बिषयमा उत्तर¬–पुर्व क्षेत्रीय समितिले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकासंग समन्वय गरेर सबैको सुझाव संकलन गरी खाका तयार पार्ने र त्यसै अनुसार अघि बढ्ने एनआरएनए अमेरिकाका न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारीले जानकारी दिए । सामुदायिक भवन बनाउने जस्तो बृहत योजनामा समाजका हरेक पक्ष र अधिकांस व्यक्तिहरुलाई सहभागी गराउन सहभागीहरुले सुझाब दिएका थिए ।
बैठकमा न्यूयोर्क स्थित महाबाणिज्य दूतावासका महावाणिज्यदूत पुष्पराज भट्टराई, एनआरएनए आईसिसि अमेरिकाज क्षेत्रका डीआरसी नविन शेरचन, एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाह, निवर्तमान अध्यक्ष केशव पौडेल लगायत आईसिसि र एनसीसीका वर्तमान तथा पूर्व पदाधिकारीहरुको सहभागीता थियो ।