समाचार

आज विपी जयन्ती, कांग्रेसले जागरण अभियान थाल्दै

काठमाडौं । नेपाली राजनीतिका शीर्षपुरुष विपि कोइरालाको आज जन्मजयन्ती, नेपाली कांग्रेसले देशभर विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।

खासगरी जागरण अभियानको थालनी गर्ने बताएको कांग्रेसले विपीको १ सय ६औं जन्मजयन्तीका दिन १०६ वटा रुख रोपेर अभियान थाल्ने भएको छ ।

सबै प्रदेशमा यो अभियान शुरु हुने भएको छ । दोस्रो चरणको जागरण अभियानको दौरान रुख रोपेर शुरुवात गर्न लागिएको कांग्रेसले बताएको छ ।

देशभर विभिन्न स्थानमा ३४ हजार ९ सय ८० वटा बिरुवा रोप्ने योजना कांग्रेसको छ । उपचिर्वाचन पनि नजिकिएको मौकामा कांग्रेसले देशभर जागरण अभियान चलाउन लागेको हो ।

प्रदेशसभा निर्वाचन क्षेत्रमा कार्यक्रम केन्द्रित गरिएको छ । १५ दिन सम्म चल्ने यस अभियानको अन्तिम दिन ७ असोजमा ७७ जिल्लामा एकसाथ प्रदर्शनको आयोजना गरिएको छ ।

कांग्रेसले आगामी मंसिरमा हुने उपनिर्वाचनलाई समेत प्राथमिकता दिएको बताएको छ ।

पार्टीको गिरेको साँख जोगाउनु र नेकपाले सत्तामा रहेका बेला पाएको आलोचनालाई उपयोग गर्ने दाउ हेरिरहेको छ । आगामी १४ मंसिरमा देशभरका विभिन्न ५० क्षेत्रमा उपनिर्वाचन हुँदैछ ।