कला / साहित्य

फेसबुकको एउटा साथी; पायल

प्रेमकृष्ण श्रेष्ठ / किर्तिपुर

मैले फेसबुक चलाउन थालेको धेरै समय बितेको छैन । केही समय मात्र भयो होला, मेरो एउटा हितैसीको अनुरोधमा मैले फेसबुक एकाउन्ट खोलेको थिएँ । प्रारम्भमा, फेसबुक मेरा लागि उत्सुकता र जिज्ञासाको विषय बनेको थियो । आज नौला–नौला साथीको आगमनले मेरो फेसबुकको आफ्नै एउटा परिधि र समाज छ । आज फेसबुक मेरो फुर्सदको साथी बनेको छ ।

एकदिनको कुरा हो । म फेसबुकमा आफ्ना साथीहरुको चेट लिस्ट नियाल्दै थिएँ । ऐश्वर्या रायको तस्बिर राखेकी एक अनजान महिला साथीलाई मैले ‘हाइ’ भनेँ । उनले पनि ‘हेलो’ भनिन् । मैले उनको नाम सोधेँ । उनले आफ्नो नाम पायल बताइन् । कुरा लम्बिने क्रममा हाम्रो शिक्षा, पेशा र जीवनक्रमका बारेमा पनि केही कुरा साटियो । मेरो गजलको उनले खुलेरै प्रशंसा गरिन् । फेसबुकभित्र बेवारिस छोडिएका मेरा टुक्रा–टुक्रा गजलका भावले उनको मन छुँदा रहेछन्

। मेरो फेसबुकमा त्यस्ता साथी कमै छन्, जो अरुको प्रोफाइलभित्र​ के छ भनेर नियाल्छन् । सबैलाई आफ्नो प्रोफाइलको ब्यस्तता नै प्रिय छ र आफ्नो कम्प्युटरमै दुनियाँ खुम्चिएको छ । मेरो गजलमा पहिलो प्रतिक्रिया उनकै गाँसिन्थे । त्यो मेरो गजलको शौभाग्य पनि हो । मेरो प्रणय गजललाई कस्को लागि रचना गर्नु भएको हो भनी सोध्ने क्रम निरन्तर रुपमा दोहरियो । कहिले गजलको उदास भावलाई उनी घृणा गर्थिन् । मेरो गजललाई मुस्कुराएकै सुहाउँछ भनेर उनी मलाई दुखद होइन, सुखद सृजनाहरु कोर्न प्रेरणा दिन्थिन् ।

मलाई थाहा थिएन, उनी को हुन् ? किनभने उनले फेसबुकमा आफ्नो तस्वीर पनि राखेकी थिइन । म उनलाई मायाले मेरी पायल भन्थेँ, जसलाई हाम्रो घनिष्ठताले पनि सहज बनाएको थियो । अनुहारमा कितावमा बेअनुहार भएर चिनिएकी ती युवतीको नाम वास्तवमा पायल पनि हो कि होइन, मलाई जानकारी थिएन । म उनलाई प्रोफाइलमा एउटा तस्वीर राख्न अनुरोध गर्थे। ‘यो अनुहार किताव हो र यसमा एउटा अनुहार चाहिन्छ, मेरी पायलजी । तपाई पनि एउटा अनुहार भएको मानिस हो, त्यसैले दर्ता गर्नुस् न आफ्नो अनुहार, तपाईको के जान्छ र ?’ म प्रश्न गर्थेँ ।

उनी च्याटमै ‘हेहे’ गरी हाँस्थिन् र भन्थिन्– ‘मेरो अनुहार फेसबुकमा राखेर तपाईलाई तर्साउनु छ र ? मेरो अनुहार पूरै आगोले जलेको छ ।’ म उनको वाक्यलाई ठट्टा सम्झेर भन्थेँ –‘के आगोले पोलेको अनुहार, अनुहार होइन र ? अरु जे भनून्, मलाई तपाई सुन्दर लाग्यो । तपाईको जुन काल्पनिक चित्र मेरो मनमा उदय भएको छ, त्यसलाई म पूजा गर्छु ।’ म पनि बदलामा हाहा गरी हाँस्थेँ । उनी मेरो भावना र विचारको खुलेरै प्रशंसा गर्थिन् । उनको अनुहार एकपटक नियाल्न मैले दुई महिना जति अनुरोध गरेँ । एकपटक रातको १२ बजे उनले च्याटमा भनिन् –‘आज तपाईलाई मेरो वास्तविक रुपको दर्शन दिन्छु । मेरो प्रोफाइलमा गएर हेर्नुस है त ।’ मलाई तत्क्षणै उत्सुकता जाग्यो र मैले हुन्छ भनेँ । एउटा तस्वीर देखियो प्रोफाइलमा, जसको आधा भाग पूरै आगोले जलेको थियो, त्यो अनुहार कुरुपताको प्रतिमा थियो । मलाई विश्वासै लागेन, यो तस्वीर मेरी चिरपरिचित मित्र पायलको हो । उनले मेरै तस्वीर भनेर बारम्बार भन्दा म बिश्वास गर्न बाध्य भएँ । उनले फेरि भनिन् –‘हामीजस्ता कुरुप महिलालाई यो अनुहार कितावको के महत्व छ र ?’ मलाई त्यो क्षण, कुनै दुखद सपना जस्तो लागेको थियो ।

त्यसको भोलिपल्ट फेरि उनको तस्वीरको ठाउँमा ऐश्वर्या रायकै तस्वीर मुस्कुरायो । अनुहार किताबभित्रको त्यो एउटा अनुहार, जो अरुको सुन्दर अनुहार सापटी मागेर बाँचिरहेको छ, के उसलाई आफ्नो अनुहारको अस्तित्वमा बाँच्ने अधिकार छैन ? अब मेरी पायलसित फेरि एकपटक च्याट भए म यही प्रश्न गर्ने हिम्मत बटुलेर फेसबुकभित्र नयाँ–नयाँ गजल बोकेर बाँचिरहको छु । खोइ, अचेल मेरो गजलमा सबैको प्रतिक्रिया छ, मेरी पायलको छैन ।

 

 

 

Sent from my iPhone