समाचार

चिनियाँ विदेशमन्त्री वाङ आज स्वदेश फर्किदै, देउवा र प्रचण्डसँग भेट्दै

काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी आज स्वदेश फर्किदैछन् । मंगलबार अपरान्ह उनी स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

नेपाल बसाईका दौरान विदेशमन्त्री वाङले उच्च स्तरीय भेटवार्तालाई निरन्तरता दिएका छन् । मंगलबार नेकपा अध्यक्ष प्रचण्ड र कांगेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उनले सोमबार राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरे । त्यसपछि विदेशमन्त्रीस्तरीय द्धिपक्षीय बैठक समेत सोमबार नै सम्पन्न भयो ।

बैठकमा नेपाल चीन सम्बन्धका धेरै आयातमा छलफल भएपनि सम्झौता भने नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त अवसरमा विभिन्न तीन सम्झौतामा हस्ताक्षर भएको छ ।

उच्चस्तरीय वार्तापछि दुई देशका विदेशमन्त्रीको उपस्थितिमा मनाङमा चीन सरकारको सहयोगमा अस्पताल बनाउने, प्राकृतिक विपत्तीमा काम गर्ने ५ हजार टेन्ट चीनले नेपाललाई दिने र चिनियाँ स्वयंमसेवक शिक्षक नेपाल आउने सम्बन्धी तीन वटा सम्झौतामा हस्ताक्षर भएको मन्त्रालले उल्लेख गरेको छ ।

यो भ्रमणले चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको वातावरण बनाउने अपेक्षा गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा विदेशमन्त्री यीले द्धिपक्षीय छलफल जारी राख्ने र उपयुक्त समयमा राष्ट्रपति सि जिनपिङले नेपाल भ्रमण गर्ने सन्देश नेपाललाई दिएका छन् ।

राष्ट्रपति सि जिनपिङको आसन्न भ्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले विदेशमन्त्रीलाई पनि राष्ट्रपति सरहकै सुरक्षा सुविधा दिएको छ ।

यसलाई राष्ट्रपतिको भ्रमणको रिहर्सलका रुपमा लिइएको छ । यसैबीच, विदेशमन्त्री वाङ सोमबार चन्द्रागिरिको समेत भ्रमणमा जान भ्याएका छन् । उनी आइतबार नेपाल आइपुगेका थिए ।