समाचार

सेनापतिको ऐतिहासिक निर्णय, पहिलो पटक सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पहिलो पटक सेनापतिको सम्पत्ति विवरण सार्वजनिक गर्ने परिपाटी थालेका छन् ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा सेनापति थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

त्यस अवसरमा उनले आफ्नो १ वर्षे कार्यकालको प्रगति विवरण समेत सार्वजनिक गरे । पारदर्शीता कायम गर्न सम्पत्ति विवरण सार्वजनिक गरेको उनले उल्लेख गरे ।

सेनाको वेवसाइटबाट प्रधानसेनापतिको सम्पत्ति विरण हेर्न सकिन भएको छ । सेनाभित्रको आर्थिक अनियमिततालाई क्रमशः छानविनको दायरामा ल्याउने प्रतिवद्धता समेत सेनापतिले गरे ।

गलत प्रवृत्ति भए त्यसलाई सच्याउन ढिला गर्नु नहुने उनको भनाई थियो । तर, राम्रा संस्कारलाई भने जोगाउनु पर्ने उनले बताए ।

विवरण अनुसार प्रधानसेनापतिको काठमाडौंमा तीन स्थानमा जग्गा रहेको छ । लमजुंग र नवलपरासीमा पनि उनले जग्गा रहेको उल्लेख गरेका छन् ।

५५ तोला सुन र ५ सय ९० तोला चाँदी उनीसँग रहेको विवरणमा उल्लेख छ । यसबाहेक हिराको हार र औठीसमेत रहेको छ । विभिन्न बैंकमा नगद तथा शेयर विवरणसमेत उनले आफ्नो सम्पत्ति विवरणमा भरेका छन् ।