बिचार

चर्च कि पापहरुको भकारी ?

पुरुषोत्तम लम्साल
[email protected]

अघिल्लो अंकमा प्रकाशित ‘(चर्च) गिर्जाघर कि व्यभिचार अड्डा ?’ शीर्षक लेख छापिएपछि केही पाठकले इमेल गरे । त्यसमध्ये उनीहरुको दुईवटा जिज्ञासा महत्वपूर्ण लाग्यो । पहिलो, चर्चहरु यौनशोषणको केन्द्र बन्न थालेको हिजो अस्ति मात्र वा एक्काइसौं शताब्दीको पूर्वाद्र्धमा मात्र हो ? दोस्रो, लेखमा अमेरिकी चर्चहरु मात्र समेटिनुको कारण के हो र विश्वका बाँकी देशका चर्चहरु चाहिँ पुण्यभूमि हुन् ?
यो अंकमा म यूरोपका केही देशका चर्चभित्र भएका व्यभिचारका उदाहरणहरुको सहयोगमा नेपालमा पनि फैलँदो चर्च संस्कृति र त्यसले निम्त्याउन सक्ने सामाजिक विसंगति र व्यभिचारका सङ्क्रमणलाई क्रमशः गर्नेबारे सोच्दै थिएँ । भारतीय चर्चहरुमा मौलाउन थालेको चर्चभित्रको यौन शोषणका लगातारका शृङ्खलाबाट हामीले के सिक्ने भन्ने विषय सान्दर्भिक हुँदाहुँदै यो अंकमा म पाठकका माथिको दुई जिज्ञासाबारे केन्द्रित हुँदै छु । आशा गरौं आगामी अंकमा अन्य देशका उदाहरणसहित बाँकी सामग्री आउनेछ ।
रोनाल्ड एम एनरोथले सन् १९९२ मा चर्च जहाँ हिंसा हुन्छ अर्थात् ‘चर्च द्याट अब्युज’ पुस्तक प्रकाशन गरे । उक्त पुस्तकमा पनि चर्चभित्र कसरी यौनको आगो सल्कियो भन्नेबारे विशेष उल्लेख छ । चौथोदेखि बाह्रौं शताब्दीको पूर्वाद्र्धसम्म आइपुग्दा चर्चसँग सम्बन्धित व्यक्तिहरुको यौन जीवन र त्यसभित्रका विसंगतिबारे चर्चा गर्दै पुस्तकले धार्मिक संस्था र त्यस्ता संस्थाका पदाधिकारीहरुको यौनजीवन रेगुलेट गर्ने प्रयास त्यतिबेलै शुरु भएको भनेर लेख्छ । अर्थात् यौन मामिलाले त्यतिबेला पनि चर्चहरु अप्ठ्यारो अवस्थामा थिए भन्ने स्वीकार गर्न करै लाग्दछ ।
जब पादरीहरुलाई, विशपहरुलाई विवाहको अनुमति थियो त्यतिबेला बाह्य यौन जीवन नियन्त्रणको प्रयास भएको देखिन्छ । जब पादरीहरुलाई विवाहमा बन्देज लगाइयो तब दुराचारको अभ्यास फैलँदै गएको भेटिन्छ । त्यतिबेलै चर्चभित्र अप्राकृतिक यौन सम्बन्ध, बालयौन शोषण र अँध्यारा कोठाहरुमा अँध्यारा अभ्यास फैलिएको दाबी गर्छन् अर्का लेखक थमस डोले ।
थमस पी. डोयलको अर्को एउटा चर्चित पुस्तक छ । विश्वको धर्म बजारमा सनसनी मच्चाएको ‘सेक्स, प्रेइष्ट एण्ड सेक्रेट कोड्स’ शीर्षकको उक्त पुस्तकमा त दुई हजार वर्षभित्र चर्चभित्रको मौलाएका यौन गोरखधन्दाको नालीबेली पाइन्छ । उनी लेख्छन्–बाह्रौं शताब्दीको मध्यतिरै कोर्पस जुरीस कानोनिसी जसलाई धार्मिक संस्थाहरुभित्रको अनुशासनबारे एउटा संहिता मानिन्छ, आउनुअघि नै चर्चमा भइरहेका यौन शोषणविरुद्ध असंगठित रुपमा आवाज उठ्न थालिसकेको थियो तर गोप्यताको आवरण दिएर एकपछि अर्को घटना लुकाउँदै जाँदा बीसौं शताब्दीको अन्त्यमा मात्र त्यो विस्फोट भयो ।
इसाई धर्म मान्नेहरुका लागि सन्त एम्बोर्से, सन्त जेरोमी र सन्त अगस्टाइन नयाँ नाम होइन । यी तीनैजनालाई क्रिस्चियनपूर्वका महान सन्त मानिन्छ । एम्बोर्सेले इसाको चौथो शताब्दीभर क्राइष्टको नजिक पुग्ने लक्ष्यका लागि धार्मिक व्यक्तिहरुमा भर्जिनिटी आवश्यक छ र यौनको तृप्तिका लागि महिलालाई उपयोग गर्नेले पाप पाउने मत विस्तार गरे । उनकै समकालीन जेरोमीले धार्मिक संस्थाका व्यक्तिहरुको शरीर नियन्त्रित हुनैपर्ने मतलाई अझ बढी व्यापक बनाएको भेटिन्छ । यौनलाई दुष्टहरुको पहिलो अभिव्यक्ति मान्ने जेरोमीले ‘द बडी मस्ट बी कन्ट्रोल्ड एण्ड क्रिस्चियन मस्ट अभोइड सेक्सुअल अट्र्याक्सन’ भन्दै चर्चलाई मात्र होइन धार्मिक व्यक्तिलाई पनि यौन अनुशासनमा बाँध्न कठिन अभ्यास गरेको पाइन्छ ।
डोयल लेख्छन्, जसै सन्त अगस्टाइनको उदय भयो माथिका दुई प्रभावशाली मत छायाँमा प¥यो । अगस्टाइनले यौनलाई आधारभूत आवश्यकता र मानव जीवनको एउटा शक्तिको स्रोत मान्दै त्यसको दुरुपयोग मात्र पाप हुने औंल्याए । त्यसपछि बलपूर्वक, दबाबमा, प्रभावमा पारेर यौन शोषण गरिए पनि त्यो सामान्य विषय बन्न थालेको लेखकको दाबी छ । जिसस क्राइस्टका समकालीन मानिने सन्त सेनेकाले त्यही विसंगति देखेर चर्चभित्रको यौनअभ्यासलाई शारीरिक आनन्द र विलासको भ्रष्टाचार ठहर गरेका थिए । जर्मन पादरी हर्बट डम्सको विवाहको अर्थमा यसको उल्लेख छ ।
अर्थात्, चर्च र क्रिश्चियानिटीभित्र त्यतिबेला ३ वटा विवादास्पद बहस रहेछन् । पहिलो, यौन सधैं खराब हुन्छ र यसले धर्मलाई अशुद्ध बनाउँछ । दोस्रो, यौन सन्तान उत्पादन कर्मका लागि मात्र भए उपयोगी हुन्छ अन्य कारणले भए शैतान चरित्रको हुन्छ । र तेस्रो, यौन मायाको अभिव्यक्ति हो र मानव सम्बन्धका लागि महत्वपूर्ण तत्व हो जहाँ विवाहको पक्ष प्रधान हुन्छ । तर प्राचीन चर्चहरुको चरित्र र उनीहरुले दिने शिक्षालाई तेस्रो मतले थिच्दै लग्यो । ६० वर्षअघि जुनबेला विश्वमा हजारौं चर्चहरुभित्र हुने भएगरेका काला कर्तुतहरु भित्रभित्र आगो जसरी फैलँदै थिए त्यो बेला आयोजित दोस्रो भ्याटिकन काउन्सिल (सन् १९६२–१९६५) मा भएको उदारवादी विशप र कार्डिनल र कट्टरपन्थी भ्याटिकन ब्युरोक्रेसीबीचको द्वन्द्वबाट पनि उक्त कुरा पुष्टि हुन्छ । अर्थात् चर्चहरुभित्रको यौनका विषयमा माथि उल्लिखित तेस्रो विचारधारा स्थापित भयो ।
अर्थात् क्रिश्चियनहरुको नैतिकता, सदाचार र चर्च व्यवहारमा देखिएको विसंगतिबारे पहिलो शताब्दीमा लेखिएको दिदाचेले उठान गरेका चर्चभित्रका यौनजन्य गतिविधि र भ्रष्ट युवापंक्तिविरुद्धका सन्दर्भ हजार दुई हजार वर्षसम्म उस्तै जबरजस्त रह्यो । क्राइस्ट जन्मनुअघि नै स्पेनमा काउन्सिल अफ एलभिराको विधानको आधा हिस्सा नै यौनको मुद्दामा केन्द्रित थियो । यसबाट त्यतिबेला पनि धार्मिक संस्थाभित्र यौन अपराधले कसरी जरा गाडेको थियो भनेर सहजै अनुमान लगाउन सकिन्छ । हिन्दू धर्ममा कृष्ण र गोपिनीको कथालाई बजार बनाएर धर्म बेच्न तल्लिन एउटा वर्गले यी दृष्टान्तहरुलाई पनि केलाएर हेरे कति आनन्द लाग्थ्यो ।
भनिन्छ, मृतसागरको नजिक कुनैबेला सोदोम र गोमोराह नामका दुई शहर थिए । इसाईहरु ती दुई ‘पापको शहर’ भएको र त्यसलाई ईश्वरले जलाएको ठान्छन् । तर ९६८ वर्षअघि प्रकाशित सेन्ट पिटर दामियानको बुक अफ गोमराह पुस्तकको अंशहरु पढ्ने हो भने इसाई चर्चका धेरै पास्टर, विशप, कार्डिनलहरुले त्यतिबेलाका चर्चहरुलाई नै सोदोर र गोमोराह अर्थात् पाप र अपराधको शहर बनाएका रहेछन् भन्नपर्ने हुन्छ । डोयलले उधृत गरेको उक्त पुस्तकमा सन्न्यासी, विशप हुँदै कार्डिनलसमेत भएका दामियानले समकालीन पादरीहरुको यौनअपराध र उनीहरुको अपराध ढाकछोप गर्ने संस्थाका गैरजिम्मेवारीको विवरण छ । पुस्तकमा चर्चभित्र फोहोरी कार्य गर्ने धार्मिक कार्यकर्तालाई निकाल्न, पीडितहरुको सुरक्षा गर्न र नैतिक समाजको स्थापना गर्न तत्कालीन पोप लियो नवौंसँग माग गरिएको उल्लेख छ । यो पुस्तककै कारण तत्कालीन चर्चहरुमा हुनेगरेका विषद् अपराधका घटना, यौनहिंसाबारे परम्परागत धारणाविरुद्ध पश्चिमा समाजमा नयाँ जागरण शुरु भएको मान्ने पनि छन् ।
त्यसैले चर्चहरु दुराचारको कारखाना आज मात्र बनेका होइनन्, हजारौं वर्षदेखि चर्चभित्रको अन्धकार पक्षलाई गुमराहमा राखिएको थियो भन्ने माथिका उदाहरणबाट पुष्टि हुन्छ । चर्च कानुन भनेर संहिताबद्ध भएको त जम्मा १०२ वर्ष मात्र पुगेको छ भने यसअघिका सहस्राब्दीका हिसाब कहाँ–कहाँ, कति–कति होलान् ?
‘प्रकृतिविरुद्धको पाप’ भनेर समलैंगिकताको व्याख्या गर्ने रोमनकालीन साम्राज्य हुँदै अगाडि बढेको चर्चसंस्कृतिभित्रै हजारौं वर्षसम्म पादरी र विशपहरुले कसरी समलैंगिक यौन शोषण गरे होलान् ? भलै समलैंगिक शब्दको प्रयोग १९औं शताब्दीबाट शुरु भयो तर समान प्रकृतिका महिला वा पुरुषबीचको यौन सम्बन्धलाई पाप करार गरेर मृत्युदण्ड वा सबैभन्दा कठोर दण्ड दिने विधानका हिमायतीहरुले कसरी चर्चहरुलाई पापका पर्खालले घेरिएको दुराचारगृह बनाए होलान् ? नाबालक र विधवामाथि यौन अत्याचार भए यातनासहितको सजायको व्यवस्था गर्ने सिजर अगस्तसका अनुयायीहरुबाटै कसरी विश्वका लाखौं बालबालिकामाथि यौन शोषण भइरह्यो होला ?
(नोट : लेखक, विश्वभरका समलिंगीलाई तत्तत् देशको नागरिक मान्दछ र उनीहरुको समानता र स्वतन्त्रता अन्य नागरिक (महिला वा पुरुष) सरह हुनपर्नेमा जोड दिन्छ)आगामी अंकमा हामी यूरोपका केही देशका चर्चहरुभित्रको कालो विवरण र भारतमा चर्चभित्रै चलाइएको सेक्स च्याम्बरबारे संक्षिप्त चर्चा गर्नेछौं । त्यसपछिका अंकमा नेपाली समाज उधिन्ने प्रयास हुनेछ ।

भर्जिनिया, अमेरिका