बिचार

शेयरमा लगानी— दीर्घकालीन हो कि अल्पकालीन ?

निरञ्जन फुयाल
काठमाडौ

सन् १९८४ मा नेपालमा पहिलो निजी बैंकका रुपमा ३ करोड चुक्ता पूँजीसहित नबिल बैंक लि. (तत्कालीन नेपाल अरब बैंक) स्थापना भएको थियो । शेयरमा लगानी गर्ने प्रचलन तथा ज्ञानसमेतको अभावमा त्यसबखत उक्त कम्पनीले जारी गरेको शेयरमा सीमित व्यक्तिहरुले आवेदन दिई शेयर बाँडफाड भएको थियो । हाल उक्त कम्पनीको चुक्ता पूँजी रु. ९ अर्ब १ करोड रहेको छ । त्यस बैंकले हालसम्मको पूँजी वृद्धिको यात्रा हकप्रद वा थप शेयर जारी नगरी आर्जित मुनाफालाई बोनस शेयरका रुपमा वितरण गरी पूरा गरेको हो । यसको अर्थ त्यस समयमा रु. १००० लगानी गरी १० कित्ता शेयर खरिद गर्ने लगानीकर्ताले हालसम्म कायम राखेको भए उक्त शेयर संख्या बढेर ३००३ कित्ता पुगेको छ । वर्तमान बजार मूल्य (करिब रु. ८५० प्रति शेयर)लाई आधार मान्ने हो भने एक हजारको लगानी करिब ३५ वर्षमा रु. २५ लाख ५२ हजारभन्दा बढी भएको छ र यसबीचमा लगानीकर्ताले लाखौं रुपैयाँ नगद लाभांशसमेत प्राप्त गरेको छ । यसरी ३५ वर्षको दीर्घकालीन लगानी गर्ने लगानीकर्ताले धेरै ठूलो मात्रामा प्रतिफल प्राप्त गरेका छन् ।
साधारणतया मानिसहरु साथीभाइ, नातागोतामा भएका व्यक्तिहरुले शेयरबजारबाट सजिलै कमाई गरेको देखेर शेयर खरिद गर्ने गर्दछन् । शेयर बजारको प्रकृति नै निरन्तर बजार मूल्य घटबढ भइरहनु हो । यस क्रममा छोटो समयमा कमाई गर्न सकिने देखेर कतिपय व्यक्तिहरु शेयरबजारमा लगानी गर्ने गर्दछन् भने आकर्षक प्रतिफलको लोभमा जोखिम पनि रहेको हुन्छ । बजार मूल्य बढ्दै गएमा केही समयमै लगानी गरेको रकममा नाफा बुक गर्न शेयर विक्री गर्नेहरु धेरै हुन्छन् । यस्ता अल्पकालीन लगानीकर्ताहरुलाई स्पेकुलेटर भनिन्छ । यस्ता लगानीकर्ताहरुले छोटो समयमा आकर्षक नाफाको लोभमा ठूलै जोखिम लिएका हुन्छन् । अब प्रश्न उठ्छ, जोखिम लिएर अल्पकालमा बढी प्रतिफलका लागि शेयर बेच्नेले बढी कमाउँछ कि दीर्घकालीन लगानीकर्ताले बढी कमाई गर्छ ?
हालको बजार पूँजीकरणका आधारमा हेर्ने हो भने अमेरिकी बजारमा रहेका ठूला कम्पनीहरु अमेजन, माइक्रोसफ्ट, अल्फाबेट, फेसबूक, एप्पलजस्ता कम्पनीको शेयर शुरुमै खरिद गरेर दीर्घकालीन लगानी गर्ने व्यक्तिहरुको सम्पत्तिमा धेरै वृद्धि भएको पाइन्छ । शेयर बजारमा लगानी गरेरै विश्वको सर्वाधिक धनीहरुको सूचीमा पर्न सफल लगानीकर्ता वारेन बफेटले पनि दीर्घकालीन लगानी नै गर्ने गर्दछन् । माथिको नबिल बैंकको उदाहरणले पनि दीर्घकालीन लगानीमा ठूलो प्रतिफल प्राप्त गर्न सकिने देखाएको छ । नेपालका त्यस्तै प्रकृतिका अन्य कम्पनीहरुमा स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल इनभेष्टमेन्ट बैंक, युनिलिभर नेपाल लिमिटेड आदि रहेका छन् । जुन लगानीकर्ताहरुले यी कम्पनीमा लगानी गरी शेयरको मूल्य वृद्धि भएको देखेर केही समयमै विक्री गरी नाफा बुक गरे, उनीहरुले यति धेरै प्रतिफल प्राप्त गर्न सकेनन् ।
छिटो–छिटो शेयरको खरिद विक्री गर्दा खर्च वृद्धि हुने, जोखिम पनि बढ्ने पटक–पटक खरिद विक्री निर्णय गर्दा अध्ययनसमेत धेरै गर्नुपर्ने हुन्छ । समय धेरै दिनुपर्ने र नयाँ सूचना प्राप्त हुनासाथ खरिद विक्रीमा सक्रिय रहनुपर्ने भएकाले यस्ता अल्पकालीन लगानीकर्ताहरुको मुख्य व्यवसाय नै शेयर बजारमा लगानी गर्नु रहेको हुन्छ । तर, संसारका धेरै लगानीकर्ताहरुको मुख्य पेशा शेयर बजार नभएर अन्य क्षेत्र रहेको हुन्छ । आपूmले बचत गरेको केही रकमबाट राम्रो प्रतिफल प्राप्त गर्ने आसमा शेयर बजारमा लगानी गरिन्छ । त्यस्ता आम लगानीकर्ताले आफू वरिपरि रहेका केही स्पेकुलेटरले अल्पकालमा नाफा कमाएको देखेर लगानी निर्णय गर्दा जोखिममा परी घाटा खाएको पनि हुन सक्छ ।
पक्कै पनि अल्पकालमा शेयर बजारमा खेल्दा बढी नाफा भएको देखिन सक्छ तर यसमा धेरै जोखिम रहेको हुन्छ । शेयर बजारलाई मुख्य पेशा नबनाएका धेरै साधारण लगानीकर्ताहरुले दीर्घकालीन लगानी गर्नु उपयुक्त हुन्छ । दीर्घकालीन लगानीमा पनि एक कम्पनीमा मात्र लगानी नगरी विभिन्न क्षेत्रका चार पाँच कम्पनीका शेयरमा लगानी गरे जोखिम कम गर्न सकिन्छ । अध्ययनहरुले के देखाएको छ भने अन्य क्षेत्रको लगानीभन्दा शेयर बजारको दीर्घकालीन लगानीको प्रतिफल बढी हुने गर्दछ । यस्तै अध्ययनहरुको सुझावका आधारमा सन् १९६० र ७० को दशकमा अमेरिकी बजारमा दलालहरुले विभिन्न कम्पनीको शेयरलाई एक पोर्टफोलियो तयार गरे । निश्चित तलब आय भएका जागिरेहरुलाई त्यस्ता पोर्टफोलियोहरुमा हरेक महिना केही रकम लगानी गर्न अनुरोध गरियो । धेरै संगठित क्षेत्रका जागिरेहरुले यस्तो स्किममा बीसौं वर्षसम्म निरन्तर लगानी गरे । दलालहरुले हरेक दुई तीन वर्षमा पोर्टफोलियोमा रहेका कम्पनीहरुको मूल्यांकन गरी थपघट गर्ने गर्दथे । बीस वर्षपछि त्यस्तो लगानीले बजार मूल्यका आधारमा धेरै गुणा बढी प्रतिफल दिएको देखियो । त्यसैले निश्चित आय भएका सर्वसाधारणलाई शेयर बजारमा लगानी गर्दा सबैभन्दा उत्तम विकल्प भनेको आफ्नो आम्दानीबाट केही रकम एक निश्चित समयको अन्तरमा लगानी गर्दै जानु हो । यसबाट बीस तीस वर्षपछि धेरै ठूलो सम्पत्ति जम्मा गर्न सकिन्छ । लगानी गरेपछि हरेक दिन बजार मूल्यका आधारमा सम्पत्ति गणना गर्नुको सट्टा एक निश्चित समयको अन्तरालमा आफ्नो लगानी गरिएका कम्पनीहरुको विश्लेषण गरी थपघट गर्दै जानु पर्दछ ।
मानिसले लगानी गर्दा मुख्य ध्यान प्रतिफलमा दिएको हुन्छ । प्राप्त विभिन्न सूचना एवम् जानकारी र साथीभाइको सल्लाह, अरुको देखासिकी आदिका आधारमा मानिसले लगानी निर्णय गर्दछ । मानिसको दिमाग कुनै गणितीय सूत्र होइन । विभिन्न विषय र अवस्थाले मानिसको लगानी निर्णयमा असर पर्ने गर्दछ । प्रतिफलको लोभ र जोखिमको डरले गर्दा गरिएको लगानी निर्णय गलत पनि हुन सक्छ । त्यसैले यस्ता मानवीय स्वाभाविक त्रुटीबाट बच्न र उचित प्रतिफल प्राप्त गर्न दीर्घकालीन लगानी गर्नु उपयुक्त हुन्छ ।

(लेखक नेप्सेका प्रबन्धक हुन्)