समाचार

त्रिदेशिय ट्राभल शो नेपालमा

काठमाडौं । नेपाल इण्डिया चाइना एक्स्पो (नाइस) नेपालमा आयोजना हुने भएको छ । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै त्रिदेशीय ट्राभल शो आयोजना गर्न लागिएको बुधबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी गराइयो ।

भारत, चीन र नेपालका पर्यटनसँग सम्बन्धित व्यवसायी तथा सरोकारवालाको सहभागितामा हुने यस शोले भ्रमण वर्ष सफल बनाउन ठूलो भूमिका खेल्ने पाटा नेपाल च्याप्टरले जानकारी दिएको छ ।

यो मेला पाटाको आयोजनामा हुने छ । यसलाई भ्रमण वर्ष सचिवालय र नेपाल पर्यटन बोर्डले सहयोग गरेका छन् ।

मार्टका करीव १ हजार विदेशी पाहुना सहभागी हुने बताइएको छ । नेपालका लागि भारत र चीन सबैभन्दा ठूलो स्रोत बजार हुन् ।

यी दुई मुलुकबाट मात्र नेपालले झण्डै ४ लाख पर्यटक वार्षिक भित्राइरहेको छ । उनीहरुका लागि नेपाल गन्तब्यमा पार्न यो मार्ट सफल हुने अपेक्षा गरिएको भ्रमण वर्ष संयोजक सुरज वैद्यले बताए ।

उनले सकारात्मक समाचार प्रवाहले मात्र नेपालको ब्राण्डमा राम्रो प्रभाव पर्ने उनको भनाई छ । ट्राभल शो २१ देखि २४ फेब्रुअरीमा आयोजना हुने भएको छ ।

शोमा २ सय भन्दा बढी क्रेता, १ सय बिक्रेता, चीन र भारतका ५० भन्दा बढी संचारकर्मी, १५ जना विज्ञ वक्तालाई आमन्त्रण गरिएको छ ।

शोमा नेपाल, भारत र चीनका एयरलाइन्स, होटेल÷रिसोर्ट, पर्यटक यातायात, ट्राभल, टूर, बैंक तथा वित्तीय संस्थालगायत पर्यटनसँग सम्बन्धित कम्पनीहरुको सहभागिता हुने पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले जानकारी दिए ।