समाचार

कांग्रेसको कार्यक्रममा नेकपाको आक्रमण

काठमाडौं । बाँकेमा नेपाली कांग्रेसको जागरण अभियानमा नेकपा कार्यक्रताले आक्रमण गरेका छन् ।

बाँकेको सीतापुरमा प्रतिपक्षी नेपाली कांग्रेसको कार्यक्रममा सत्तारुढ दलका कार्यकर्ताले आक्रमण गरेको नेपाली कांग्रेस बाँकेले जानकारी दिएको छ ।

घटनामा बाँके कांग्रेसका सभापति किरण कोइरालाको हात भाँच्चिएको बताइएको छ । अन्य कार्यक्रतासमेत घाइते भएका छन् । नेपाली कांग्रेसले विपि जयन्तीको अवसर पारेर देशव्यापी जागरण अभियान शुरु गरेको थियो ।

राष्ट्रिय जागरण अभियानका दौरान खजुरा गाउँपालिका–२ सितापुरस्थित नेपाल रेडक्रसको हलमा भइरहेको कार्यक्रममा नेकपा कार्यक्रताले आक्रमण गरेको बताइएको छ ।

उक्त कार्यक्रममा केही स्थानीय युवा कांग्रेसमा प्रवेश समेत गरेका थिए । सोही विषयलाई लिएर स्थानीय नेकपाका कार्यक्रताले आक्रमण गरेको बताइएको छ ।

नेकपाको क्षेत्रमा कोही पनि कांग्रेस प्रवेश गर्न पाउँदैन भन्दै युवाहरुले कार्यक्रम विथाल्ने र तोडफोड गरेको बाँके कांग्रेसले बताएको छ ।

कांग्रेसले घटनाको सत्य तथ्य पत्ता लगाएर कारवाही गर्न समेत आग्रह गरेको छ । पार्टीले उक्त घटनाको भत्सर्ना पनि गरेको छ ।