समाचार

फाइनलमा चुक्दा महिला फूटबलको ऐतिहासिक उपाधी गुम्यो

काठमाडौं । बलियो टोली उज्वेकिस्तानसँग ३-२ को गोल अन्तरमा नतिजामा सुम्पिएसँगै नेपाली महिला टोलीले ऐतिहासिक उपाधी जित्ने एक सूनौलो मौका गुमाएको छ ।

यदी यो उपाधी जितेको भए नेपाली महिला फूटबलका लागि त्यो पहिलो अन्तर्राष्ट्रिय उपाधी हुने थियो । बिहीबार बिहीबार किर्गिस्तानमा भएको नाडेज्दा कपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको हो ।

नेपाल विभिन्न अन्तर्राष्ट्रिय फूटबलको आठौं फाइनल खेलेको थियो । तर, आठौं फाइनलमा पनि उपाधीबाट परै रहनु पर्यो ।

उज्वेकिस्तान नेपालभन्दा फिफा वरीयतामा ५७ स्थान माथि रहेको छ । यद्दपी महिला टोलीले बिहीबार उज्वेकिस्तानविरुद्ध उत्कृष्ट खेल पस्कदै दर्शक तथा समर्थकको मन भने जित्न सफल भएको छ ।

नेपालले पहिलो हाफमा १ र दोस्रो हाफको प्रारम्भ मै दुई गोल खान पुग्यो । तीन गोलले पछाडी परेको नेपालका लागि सावित्रा भण्डारीले ६५ मिनेटमा उत्कृष्ट गोल गरेकी थिइन ।

उनले ९० औं मिनेटमा पेनाल्टीबाट नेपालका लागि दो्रो गोल थपेपनि त्यतिन्जेल खेलमा फर्कन नेपाललाई ढिला भइसकेको थियो ।

यस प्रतियोगितामा सावित्राले ७ गोल गर्न सफल भईन् । यससँगै उनकले देशका लागि ३३ अन्तर्राष्ट्रिय खेलमा ३५ औं गोलको कीर्तिमान पुरा गरेकी छिन् ।

जससँगै उनले नेपालका लागि बढी अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान बराबरी समेत गरिन् । यसअघि अनु लामाले मात्र नेपालका लागि ३५ गोल गरेकी थिइन् ।

यो प्रतियोगिता आगामी मंसिरमा नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुदको तयारीका रुपमा नेपालले लिएको छ । नेपाललाई समूह चरणमा पनि उज्वेकिस्तानले नै हराएको थियो ।

समूह चरणमा नेपालले भने आयोजक किर्गिस्तानलाई ८-२ र ताजकिस्तानलाई १-० ले हराएर फाइनलमा पुगेको हो ।