समाचार

गुण्डानाइके बस्न्यातका सहयोगी गुरुङलाई गोली हानेर समातियो

काठमाडौं । प्रहरीले गुण्डानाइके समिरमान सिंह बस्न्यातका सहयोगी साजन गुरुङलाई गोली प्रहार गरी पक्राउ गरेको छ ।

शुक्रबार काठमाडौंको गोलढुंगामा प्रहरीले गोली हानेर गुरुङलाई पक्राउ गरेको हो । नकोज भनिने गुरुङले जेल भित्र रहेका नाइके बस्न्यातका लागि काम गर्ने गरेको प्रहरीको दावि रहेको छ ।

बस्न्यातसँगको साँठगाँठ रहेको आरोपमा गृहमन्त्री राम बहादुर थापा बादलका भाई नै प्रहरीबाट समातिएपछि उक्त समूहविरुद्ध प्रहरी आक्रामक भएको छ ।

यसबीचमा प्रहरीले बस्न्यातका तीन जना सहयोगीलाई पक्राउ गरिसकेको छ ।

बस्न्यात तिनै अपराधी हुन, जसले मोटो रकम मागेपछि नपाउँदा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गरेका थिए ।

उनी अहिले केन्द्रीय कारागार सुन्धारामा कैद जीवन बिताइरहका छन् । तर, उनले जेल भित्रैबाट अपराध कर्म संचालन गरिरहेको प्रहरीको भनाई रहेको छ ।

उक्त हत्याको मूख्य योजनाकारका रुपमा उनलाई प्रहरीले दोषि सावित गरी पक्राउ गरेको हो । घटनापछि भारतमा भागेका उनलाई प्रहरीले गत मंसिरमा पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार शुक्रबार गोली प्रहार गरी पक्राउ परेका गुरुङ तिनै समरमाका लागि काम गर्ने सहयोगी हुन ।

उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि प्रहरीले खुट्टामा गोली हानेको बताइएको छ ।

उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गुरुङको साथबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसमेत बरामद भएको प्रहरीले पुष्टी गरेको छ ।

गुरुङले विभिन्न व्यवसायीलाई ज्यान मार्ने धम्की दिने गरेको थिए । प्रहरीका अनुसार उनले प्रहरीका उच्च अधिकारीहरुलाई समेत मार्ने धम्की दिने गरेका थिए ।