Epapers :

23-Oct-2019 | ६ कार्तिक २०७६, बुधबार

म अनायास सारिपुत्तलाई स्मरण गर्न पुग्दछु

२९ भाद्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


​विनोद रोका / न्युर्योक

पढेर, सुनेर वा देखेर थुपारिएका बिचारका कारणले गर्दा प्राय: अरुले भनेको कुरा सुन्ने धैर्यता हुदैन । त्यसैले गर्दा हामीसँग प्रश्नहरु हुन्छन, जान्ने र बुझ्ने जिज्ञासा हुदैन । त्यस्तो व्यक्तिको उदाहरण दिनु पर्यो भने हाम्रो बानी अरुलाई ईंगित गर्ने हुन्छ । त्यो बानी मेरो पनि छ । त्यसैले मैले पनि बेला मौकामा त्यस्ता व्यक्तिलाई बुद्धि भरिएका मान्छेहरुको उदाहरण दिने गरेको छु ।

यस प्रसंगमा मलाई बुद्ध र सारीपुत्तको कथाको स्मरण हुन्छ ।

ब्राम्हणका छोरा सारिपुत्त धर्मशास्त्रका ज्ञाता थिए । सारिपुत्त लगायतका साधकहरु आफ्नो गुरुकुल आश्रम छाडेर बुद्धको शरणमा पुगे, शिष्य बन्ने चाहना लिएर । उनिसँग अन्य सयौं अनुयायीहरु पनि पछि लागे । सारीपुत्तसँग शास्त्रद्वारा भनिएका अरुका अनुभवको ज्ञानको भण्डार थियो । त्यसैले उनले बुद्धसँग केही प्रश्नहरु राखे । उनको प्रश्न सुनेर बुद्धले भनें “यी प्रश्नहरु तिम्रा आफ्ना निजी होईनन् । यी प्रश्नहरु तिमीले शास्त्र पढेका आधारमा गरेका हौ । त्यसैले मैले दिएको जवाफले तिम्रो जिज्ञासा मेटिदैन । तिमी मलाई तिम्रा आफ्ना अनुभवका प्रश्नहरु गर । म ती प्रश्नहरुको उत्तर दिन्छु” । सारीपुत्तले यो तथ्यलाई स्विकारे र आफु शास्त्रका प्रश्नहरुबाट खाली बने । बुद्धले उनलाई शिष्यको रुपबाट स्विकार गर्दै भनें “अब तिम्रो मुक्तिको बाटो खुल्यो । तिमी खाली भयौ । अब त्यो खाली ठाउँमा तिमीले ध्यानको माध्यायमबाट आर्जित आफ्नो ज्ञानको दियोबाट सबै प्रश्नहरुको उत्तर पाऊने छौ” । लामो समयसम्म सारिपुत्त बुद्धसँग प्रश्न गर्न गएनन् । एकदिन बुद्धले सारीपुत्तलाई सोधेछन् “तिम्रा प्रश्नहरु केही छन् भने सोध” । प्रतिउत्तरमा सारीपुत्त मौन थिए । किनकि उनीसँग अब अरुको अनुभवद्वारा निस्किएका उधारो ज्ञान थिएन । उनको खाली ठाउँमा अब ध्यानद्वारा आर्जित आफनै अनुभव थियो । उनी भित्रको ज्ञानको दियोले अध्यारो हटाई सकेको थियो ।

पतञ्जली योग नेपालका गुरु ललित शंकरजी २०१२ मा अमेरीका आउनु भएको थियो। मैले उहाँलाई डलास, टेक्सासमा मित्र देवी आचार्यजीको माध्यमबाट भेटेको थिए ।ईन्द्रेणीले गरेको नेपाली समुदायको लागि ईमिग्रेशन कानूनको बारेमा आयोजना गरेको कार्यक्रममा न्युर्योकबाट वक्ताको रुपमा गएको थिएँ । त्यसबेला ललितजीले डालासमा योगाभ्यासको प्रशिक्षण दिनु भएको थियो। मैले उहाँलाई न्युर्योकमा आऊने निम्ता दिएँ  । सनातन धर्म सेवा समिति न्युर्योकका तर्फबाट हामीले पनि एऊटा कार्यक्रम राख्यौ । यो समिति विष्णुदाईको अगुवाईमा विगत २५ बर्षदेखि सञ्चालित छ । न्युर्योक शहरको क्विन्स, ज्याक्सनहाईट्सको सेरोफेरोमा एऊटा पशुपतिनाथ र बुद्धको मन्दिर बनाऊने सपना बोकेर सनातन धर्मको विंडो थामी रहेको छ ।

ललितजी केही दिनका लागि मेरो पाहुना हुनु भयो । एक दिन ललितजीले भन्नु भो “विनोदसर एऊटा अमेरीकी प्रोफेसर मेरो योगाभ्यासको कार्यक्रममा भाग लिन आयो। कार्यक्रमपछि पनि मसंग लामो समयसम्म योग र यसबाट हुने फाईदाका बारेमा जानकारी लियो। अनि मैले ऊनलाई सोधें “तपाई प्रोफेसर जस्तो मान्छेले म थोरै पढेको मान्छेसंग यसरी प्रश्न सोध्ने र मैले जवाफ दिनु पर्दा अपठ्यारो लागि रहेको छ” । यस्को जवाफमा प्रोफेसरले भने “मेरो बिषयमा पो त मलाई जानकारी छ तर यो योगको बारेमा म अनभिज्ञनै छु । त्यसैले म यस बारेमा तपाईबाट राम्ररी जान्न चाहान्छु किनकि तपाई यस्को ज्ञाता हो।” तर हाम्रो नेपाली समुदायमा प्राय! सहभागीहरुको कुनै जिज्ञासा हुदैन । यदि कसैले बोलीनै हाले भने कि त गल्ती देखाउँछन, कि त आफनै धारणा राख्दछन । वा फलानाले त यसो भन्थे तपाईले किन यसो भन्नु भो भनि प्रश्न गर्छन् । किन होला ? ऊहाँको प्रश्नमा मैले पनि प्वाक्क भनिहाले “गुरु हाम्रो भरिएको बुद्धिमा राख्ने ठाऊनै बाँकी छैन। अलिकति खाली भए पो सुन्ने अनि जिज्ञासुपन रहन्छ ।” अनि हामी दुवैजना मस्तले हास्यौं। मैले पछि महसुस गरें, म पनि ऊही ड्याङ्को मुला रहेछु भन्ने । आज धेरै बर्षपछि फेरी मलाई ललितजीसंग भएको माथिको भनाईको सम्झना आयो ।

प्रसंग के भने, हामीले न्युर्योकको क्विन्समा विगत १ बर्षदेखि हरेक हप्ता आईतबार साँझ सामुहिक ध्यान साधना र सत्संघको थालनी गरेका छौं । यस्मा करिब १५ जना जति सदस्यहरु छौं । हामीले एक घण्टा ध्यान र केहीबेर सत्संघमा समय विताउँछौं । समुहका सदस्यहरु विभिन्न ध्यानका पद्दतीबाट आऊनु भएको छ। विपश्यना, रजनिश, रविशंकर, डा. रमानन्द गिरि, डा. पिल्लाई, योगाचार्य बालकृष्ण, वेनप्रभु, आदि । कहिलेकाही न्युर्योकमा आऊनु भएका बेला अन्य सम्प्रदायका व्यक्तिरुसँग पनि हामीले सत्संघ गर्ने गर्छौ । केही समय अगाडी रेम्पोचे गुरुजीका साथमा रहेर उहाँले सिकाउनु भएको ध्यान पद्दतीमा पनि हामी सामेल भयौ। रक्षासंग पनि हामी सत्संघमा सामेल भयौं ।

हाम्रो समुहका साथीहरुले बालज्ञानी गुरु आदित्यको चैत्र २४ देखि ३०, २०७५ मा ॐ आदिकुन्ज, गौरीनगर, काठमाडौंमा आयोजित त्रिगजुर शिवालयको प्राण.प्रतिष्ठान एवम ॐ आदिमणि मन्त्र महायज्ञ महाअनुष्ठानको पावन अवसरमा ॐ आदि अनादि आदित्याय परमज्योति आराध्याय ॐ नमो नम: मन्त्रको सामुहिक मन्त्रको पाठ न्युर्योकमा पनि गर्यौ । समुहमा रहने साथीहरुलाई बालज्ञानी गुरु आदित्यद्वारा आविष्कार गरिएका मन्त्रहरुको पाठ र ध्यानका विधिको अनुसरण गर्न सहज पनि हुन्छ । तर यस्तो सहजता समुहका कुनै सदस्यले मानि आएको गुरुजीको प्रकृयामा भने हुने गर्दैन।

हामी समुहका साथीहरुलाई गुरु आदित्य र अन्य गुरुहरुको बारेमा केही कुराहरु थाहा छ । केही प्रत्यक्ष सम्पर्कबाट र केही उहाँहरुका बारेमा सार्वजनिक भएका र सुनेका आधारमा । त्यसैले कहिलेकाँही कुनै खास गुरुको सानिध्यमा रहेको व्यक्तिले गुरुका बारेमा केही बोल्न लाग्यो भने हामी पनि आफनो भनाई राख्न हतारिन्छौ । यही मेसोमा गुरु आदित्यका नजिकमा रहेका साधकहरु डा. राजु अधिकारी, शुसिला र सागर थापाजीलाई हामीले हाम्रो सामुहिक ध्यान र सत्संघको क्रममा पटक पटक स्वागत गर्ने मौैका पाएका छौं । उहाँहरुले ज्ञानका सागर गुरु आदित्यको प्रत्यक्ष सम्पर्कमा रहेर अनुभव गरेका अनि बटुलेका केही अमृतका थोपाहरु हामीलाई बाड्नु हुन्छ । गुरु आदित्यले आफनो भनाईलाई पस्कने क्रममा भन्नु पनि भएको छ। “मेरो सानिध्यमा रहेका साधकहरुलाई भेटनु भनेको मलाई भेटनु जस्तै हो।” तर कहिले काँही म लगायतका अन्य साथीहरुले उहाँहरुका अनुभवका कुरालाई राम्ररी सुन्दैनौ र आफ्ना बिचारहरु थप्न थाल्दछौं । यसरी सिक्वेन्स नमिलेको अवस्थाको ज्ञात जब मलाई हुन्छ तब अनायास सारिपुत्तलाई स्मरण गर्न पुग्दछु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार