डायस्पोरा

न्यूयोर्कको ज्याक्सन हाईट्समा ईन्द्रजात्रा मनाईयो

न्यूयोर्क 

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी मनाईने इन्द्रजात्रा न्यूयोर्कमा नेवा: गुठीको आयोजनामा मनाईएको छ । शनिबार १४ तारिख ज्याक्सन हाईट्सको डाईभर्सिटी प्लाजाको खुला क्षेत्रमा दोश्रो पटक मनाईएको ईन्द्रजात्रा नेवारी परम्परा र संस्कृतिको पहिचानको रुपमा लिईन्छ । नेपालीहरुको बाक्लो बस्ती रहेको ज्याक्सनहाईट्समा कार्यक्रम हेर्न नेपाली तथा अन्य मुलका मानिसहरु समेत भेला भएका थिए । 

सो अवसरमा कुमारीको पूजा तथा दर्शनको लागि लामो भिड लागेको थियो । 

नेवारी समुदाय र समग्र नेपालको पहिचान गराउने उद्देश्यले मनाईएको ईन्द्रजात्रामा विदेशीहरुलाई समेत आमन्त्रण गर्न सकिए नेपालको पहिचानबृद्धी र पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने गुठीका अध्यक्ष निर्मल प्रधानले बताएका छन् ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा निकै धुमधाम सहित मनाईने गरिए पनि स्थानैपिच्छे केही फरकशैली अपनाईन्छ । न्यूयोर्कमा मनाईएको यो ईन्द्रजात्राको रिती ललितपुर र लाखेनाच बेत्रावती नुवाकोट (ब्रम्हटोल काठमाडौं) को रहेको बताईएको छ ।

ईन्द्रजात्राको रिती अनुसार आकर्षक “समेबजी डों”, धिमेबाजाको तालमा “पुलकिसी”, कुमारी, लाखेनाच, ईत्यादी प्रदर्शन गरिएको थियो । धामेबाजाको नेतृत्व बाद्ययबादक न्हुच्छे महर्जनले गरेका थिए ।

शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । नेपाली कला र संस्कृतीलाई बिदेशमा पनि निरन्तरता दिन सकेकोमा खुसी लागेको आयोजकका तर्फबाट नेवा: गुठीका कोषाध्यक्ष सुर्य श्रेष्ठ महर्जनले बताएका छन् । अन्त्यमा लाखेले समेबजी डों भत्काएपछि उक्त समेबजीलाई प्रसादको रुपमा सबैलाई बितरण गरेपछि जात्रा सम्पन्न भएको थियो ।