विश्व

फेरी भेट्दैछन् ट्रम्प र मोदी, के छ एजेण्डा

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न अमेरिका भ्रमणका दौरान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता तय भएको छ ।

करीव ५० हजार भारतीयको सहभागितामा अमेरिकामा हाउडी मोदी नामक कार्यक्रम आयोजना गरिएको छ । २२ सेप्टेम्बरमा हुने उक्त कार्यक्रमका दौरान भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पबीच भेट हुने भएको हो ।

यस कार्यक्रमका दौरान आयोजना हुने साझा र्यालीमा दुबै राष्ट्रप्रमुख सहभागी हुनेछन् ।

अमेरिकाको टेक्सास राज्यस्थित ह्यूस्टनमा आयोजना हुने यस कार्यक्रमले दुई मुलुकबीचको सम्बन्ध मजवुत बनाउने विश्वास लिइएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

ह्वाइट हाउसले उक्त कार्यक्रममा राष्ट्रपतिको सहभागिता पुष्टी गरेको छ । यस कार्यक्रममा सहभागी हुन ५० हजारले नाम रजिष्ट्रेसन गराइसकेका छन् भने अझै ८ हजार मानिस आफ्नो सहभागिता सुनिश्चितताको पर्खाईमा रहेका छन् ।

अमेरिकाका लागि भारतका राजदूत यस कार्यक्रममा राष्ट्रपति ट्रम्पको सहभागिता ऐतिहासिक क्षण हुने बताएका छन् ।

यस र्यालीमा अमेरिकाका करीव ५० जना सांसदले समेत भाग लिँदैछन् । मोदीको यो दोस्रो कार्यकालको पहिलो अमेरिका भ्रमण हो ।

त्यसअगाडी मोदीको स्वागतमा म्याडिसन स्क्वायर गार्डेन र क्वालिफोर्नियाको सिलिकन भ्यालीमा कार्यक्रम आयोजना गरिदैछ ।

यी दुबै इभन्टमा करीव २०\२० हजार मानिस सहभागि हुने निश्चित भएको छ ।

एजेन्सी