रोचक खवर

नेपालगन्ज घटनाबारे बुद्ध एयरको स्पष्टिकरण : हुलका कारण जहाज नै ढल्कियो

काठमाडौं । बुद्ध एयरले नेपालगञ्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि भएको दुव्र्यवहार सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्पष्टिकरण बुझाएको छ ।

सोमबार बुझाएको स्पष्टिकरण अनुसार केही समय मन्त्रीका कारण र केही समय भीडले गर्दा निर्धारित समयभन्दा २४ मिनेट जहाज ढिला उडेको स्पष्ट पारेको छ ।

मन्त्रीले जानकारी गराएर आफू बाटोमा भएकाले आउँदै गरेको उल्लेख गरेका थिए । त्यसकारण केही समय यात्रुलाई बाहिरै राखेर कुराइएको कम्पनीले स्पष्ट पारेको छ ।

तर मन्त्री आइसकेपछि एउटा समूहले हुलहुज्लत गर्दा कारण उडानमा थप ढिलाई भएको र विमान समेत एकातिर ढल्किएको बुद्ध एयरले प्राधिकरणलाई बुझाएको स्पष्टिकरणमा उल्लेख गरिएको छ ।

जहाजभित्र भीडले मन्त्रीका कारण जहाज १ घन्टा कुरेको भन्दै भिडियो खिची सामाजिक संजालमा राखि अपमान गरेका थिए । मन्त्री भट्टराईले भने आफ्ना कारण मात्र १५ मिनेट ढिलो भएको भन्दै माफी समेत मागिसकेका छन् ।

बुद्ध एयरका अनुसार नेपालगञ्जबाट ६ः४० मा उड्नुपर्ने बिमान २४ मिनेट ढिला गरी ७ः०४ मा उडेको थियो ।

यसमध्ये ६ देखि ८ मिनेट हुलहुज्जतका कारण ढिलाई भएको थियो । बाँकी समय भने मन्त्रीलाई कुर्नु परेको थियो ।

‘घटनामा मन्त्रीका सुरक्षाकर्मी र सहयोगीले देखाएको संयमताले गर्दा आक्रोशित समूहलाई समयमै साम्य पारी उडान गरिएको बुद्ध एयरले लेखेको छ ।
पत्र अनुसार जहाजमा ६ः३० मा यात्रुको बोर्डिङ गराइएको थियो ।

त्यसअघि मन्त्रीका सहयोगीले ६ः२५ बजे नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरणमार्फत फोन गरेर धम्बोजी आइपुगेको जानकारी गराएका थिए । तर, फोनमा जानकारी गराइएभन्दा केही ढिला मन्त्री एयरपोर्ट प्रवेश गरेका थिए ।

विमानमा बसेको १० मिनेटसम्म जहाज नउडेपछि ६ः४० बजे १४ \१५ जनाको समूह परिचारिकाहरुलाई अटेर गर्दै बाहिर निस्किएका थिए ।

६ः५० मा मन्त्री जहाजमा चढेका थिए । त्यसपछि सबै यात्रु उनीसँगै भित्र पसेर हुलहुज्जत गर्दा जहाज उड्न थप ढिला भएको कम्पनीले स्पष्ट पारेको छ ।

धेरै जना मानिस एकै ठाउँ उभिएर विवाद गर्न थाल्दा एक भागमा बढि वजन भएर विमान ढल्किएको समेत प्राधिकरणलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ ।