विश्व

नेपालमा उत्तर कोरियाली लगानी प्रतिवन्ध, फिर्ता लैजान अल्टिमेटम

काठमाडौं । सरकारले नेपालमा उत्तर कोरियाली लगानी प्रतिवन्ध गरेको छ । नेपालमा उत्तर कोरियाली नागरिकको लगानीमा सञ्चालित व्यवसाय बन्द गर्न दुई महिने अल्टिमेटम दिँदै लगानी प्रतिवन्ध गरेको हो ।

उद्योग विभागका अनुसार अक्टोबर अन्त्यसम्म सबै उत्तर कोरियाली व्यवसायीले आफ्नो लगानी फिर्ता लगिसक्नु भएको भएको छ ।

त्यसक्रममा उनीहरुले व्यवसाय बन्द गर्न सक्छन् वा बिक्री गरेर नेपाल छाड्नु पर्ने हुन्छ । यसका लागि परराष्ट्र मन्त्रालयमार्फत ति व्यवसायीलाई पत्राचार समेत भइसकेको विभाग स्रोतले जानकारी गराएको छ ।

विश्वव्यापी प्रतिबन्धका कारण नेपालमा पनि उत्तर कोरियाली लगानी प्रतिवन्ध गर्नु परेको बताइएको छ । नेपालले कोरियाली दूतावासलाई पटकपटक यस सम्बन्धमा आग्रह गरिसकेको छ ।

पछिल्लो समय सरकारले उत्तर कोरियाली नागरिकको भिसा अवधिमा पनि कडाई गर्दै थपेको छैन ।

नेपालमा अस्पताल, रेष्टुरेण्ट र सफ्टवेयरको क्षेत्रमा उत्तर कोरियाली नागरिकको लगानी रहेको छ । तर, यसको परिमाण त्यति ठूलो भने छैन ।

सांकेतिक रुपमा पनि उत्तर कोरियाको लगानीलाई संसारभर प्रतिवन्ध गरिएको छ ।

शक्तिशाली राष्ट्रहरुले उत्तर कोरियाको निशस्त्रीकरण अभियानका दौरान यो प्रतिवन्ध लगाइरहेका छन् ।