विश्व

अमेरिका-इरान बढ्दो तनाव, कच्चा तेलको मूल्य निरन्तर उकालो

साउदी अरेविया । गत शनिबार साउदी अरेवियाको सबैभन्दा ठूलो कच्चा तेल प्रशोधन केन्द्रमा ड्रोन हमला भयो । हमलाका कारण आगोलागी मात्र भएन, तेलको कुवामै क्षति पुग्यो ।

त्यसपछि अरामको नामक कम्पनीले उत्पादन नै कटौती गरेको छ । विश्वको ५ प्रतिशत तेल उत्पादन गर्ने कम्पनीले थोरै मात्र उत्पादन घटाउँदा पनि त्यसले अन्तर्राष्ट्रिय बजारमा ठूलो असर गर्छ ।

साउदी आक्रमणमा अमेरिकाले दोषि इरानलाई लगाएको छ । अन्तरिक्षबाट लिएको तस्वीर अनुसार इरानबाट साउदीमा आक्रमण भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दावि गरेका छन् ।

तर, इरानले भने अमेरिकी दाविको खण्डन गरेको छ । यमनको विद्रोही समूहले तेल कारखानामा आक्रमण गरेको बताइएको छ । साउदी आक्रमण पछि तेलको भाउ बढ्ने क्रम जारी छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सोमबार कच्चा तेलको भाउ ६६.२८ प्रति ब्यारेल पुगेको छ । कम्पनीका अनुसार अझै एक महिनासम्म पूर्ण क्षमतामा तेल उत्पादनको सम्भावना छैन ।

उता, अमेरिकाले केही समय धान्ने गरी आफूसँग पर्याप्त इन्धन स्टक रहेको बताएपछि भने मूल्य केही थामिएको छ । अमेरिकालगायत विश्वका अतिविकसित मुलुकहरु नै इन्धनका ठूला प्रयोगकर्ता हुन् ।