समाचार

अमेरिकी विद्यालयहरूमा बिद्यार्थीहरुको तस्वीर बदलिंदै-बिद्यालय जाने अश्वेत बालबालिकाको संख्यामा वृद्धि

फाईल फोटो

अमेरिका । अमेरिकामा सार्वजनिक विद्यालयमा भर्ना हुने अश्वेत बालबालिकाको संख्या पछिल्लो साढे दुई दशकमा दोब्बर बनेको छ । यसले मुलुकको नयाँ जनसांख्यिक बनौटको चित्र प्रस्तुत गर्न थालेको वासिङ्टन पोष्टको विश्लेषणले देखाएको छ ।
त्यति हुँदा पनि ठूला सहर एवं सहरी इलाकाका बालबालिका तुलनात्मक रुपमा विभाजित स्कुल डिष्ट्रिक्टहरुमा भर्ना हुने गरेका छन् । विशेषगरी काला जातिका बालबालिका हिस्पानिक या गोरा केटाकेटीको तुलनामा छुट्टै स्कुल जाने गरेका छन् ।
तर, यो नै अमेरिकी समाजको अन्तिम चित्र भने होइन । सन् २०१७ मा सबै वर्णका बालबालिका पढ्ने समावेशी स्कुलमा एक करोड आठ लाख विद्यार्थी भर्ना भएका थिए । यो संख्या सन् १९९५ मा ५९ लाख मात्र थियो । पछिल्लो साढे दुई दशकमा समावेशी स्कुलमा पढ्ने बालबालिकाको संख्या ८३ प्रतिशतले बढेको हो ।
यो तथ्यले अमेरिकी समाजको नयाँ बनौट पनि देखाएको छ । विगतमा गोरा जातिका मान्छे मात्र बस्ने साना गाउँ एवं शहरी क्षेत्रमा हिस्पानिक अमेरिकीहरुको बाक्लो उपस्थिति यो तथ्यले पुष्टि गरेको छ । ठूला सहरलाई भन्दा यस्ता क्षेत्रलाई अमेरिकी जनसांख्यिक बनौटको नयाँ ऐनाको रुपमा बुझ्नु बढी अर्थपूर्ण हुने पोष्टको ठम्याइ छ । किनभने ठूला सहरहरु यसअघि नै तुलनात्मक रुपमा समावेशी स्वरुपको भए पनि त्यहाँको स्कुल डिष्ट्रिक्ट भने एकल जातीय स्वरुपमा छन् ।
समग्रमा एक वर्णको स्कुलमा पढ्ने बालबालिका संख्या भने अल्पमतमा परिसकेको छ । सन् २०१७ को तथ्यांकअनुसार कुल ४ करोड ६४ लाख बालबालिका सार्वजनिक विद्यालय जान्छन् । उनीहरुमध्ये ५८ लाख भने एकै वर्णका विद्यार्थी मात्र भर्ना भएको स्कुलमा छन् ।
पोष्टले गरेको विश्लेषणअनुसार सन् १९९५ मा पूर्ण समावेशी सार्वजनिक स्कुलमा भर्ना हुने विद्यार्थी संख्या १४ प्रतिशत मात्र थियो । २०१७ मा यो २३ प्रतिशत पुगेको छ । यस्तै १९९५ मा न्यून समावेशी स्कुलमा १४ प्रतिशत एवं सामान्य समावेशी स्कुलमा ५९ प्रतिशत विद्यार्थी भर्ना भएका थिए । त्यसबेला समावेशिता शून्य स्कुलमा १३ प्रतिशत विद्यार्थी पढ्ने गर्थे । अहिले पनि समावेशितारहित विद्यालयमा भर्ना हुने विद्यार्थी संख्या १३ प्रतिशत नै रहेको छ । तर, न्यून समावेशी विद्यालयमा भर्ना हुने विद्यार्थी संख्या २२ प्रतिशतमा उक्लिएको छ भने सामान्य समावेशी स्कुलमा पढ्ने विद्यार्थीको संख्या पनि ४२ प्रतिशतमा झरेको छ ।
उदाहरणको रुपमा कोलोराडोस्थित रोरीङ फोर्क भ्यालीलाई लिन सकिन्छ । २५ वर्ष अघि भ्यालीअन्तर्गतको स्कुल डिष्ट्रिक्टमा १२ प्रतिशत ल्याटिनो विद्यार्थी थिए । अहिले उनीहरुको संख्या ५० प्रतिशत नाघेको छ । जबकी राज्यको ठूलो सहर डेनभरका सार्वजनिक स्कुलमा यस्तो दृश्य देखिन्न । रोरीङ फोर्कका हरेक कक्षामा समावेशी अनुहारका विद्यार्थीले त्यहाँको स्थानीयताकै प्रतिविम्बित गर्छन् ।
‘हामी होसियारीपूर्वक यो अवस्थालाई कायम राख्ने प्रयासमा छौँ, रोरीङ फोर्क स्कुल डिष्ट्रिक्टका सुपरिटेन्डेन्ट रोब स्टेनले पोष्टसँग भनेका छन्– ‘हामी हाम्रो विद्यालय आफ्नो समुदाय जस्तै देखियोस् भन्नेमा सचेत छौँ ।’
बढ्दो समावेशी स्वरुपसँगै अमेरिकाको समग्र सार्वजनिक विद्यालयमा भर्ना हुने विद्यार्थी संख्या भने छ प्रतिशतले बढेको छ । पोष्टले देशभरका १३ हजार १८४ पुराना सार्वजनिक विद्यालयहरुको तथ्यांक विश्लेषण गरेको हो । यसमा निजी या धार्मिक विद्यालयमा पढ्ने ५८ लाख विद्यार्थी समावेश छैनन् । साथै सार्वजनिक चार्टर स्कुलमा अध्ययनरत तीन लाख विद्यार्थी पनि यसमा समावेश छैनन् ।
पोष्टले राष्ट्रपतिका लागि डेमोक्रेटिक प्रत्यासीहरुको शिक्षाप्रति चासो बढिरहेका बेला यो तथ्य विश्लेषण गरेको छ । राष्ट्रपतिका प्रत्यासीहरुले असमावेशी स्वरुपको विद्यालय संरचनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । सन् २०१७ को तथ्यांकअनुसार समावेशी स्कुल डिष्ट्रिक्टको संख्या राम्रै वृद्धि भएको छ । करिब ४० प्रतिशत स्कुल डिष्ट्रिक्टले दुई तिहाई हाराहारी समावेशी विद्यार्थी भर्ना गराएका छन् ।
(वासिङ्टन पोष्टको सहयोगमा)