समाचार

गायक राजेशपायल राईको घरमा आगलागी, जले अवार्ड र सम्मान

काठमाडौं । एक व्यक्तिका लागि जिन्दगीमा अवार्ड र सम्मानको ठूलो महत्व हुन्छ । एक एक अवार्डले मानिसलाई काम गर्ने हौसला र प्रेरणा प्रदान गर्छ ।

त्यसमा पनि सर्जकहरुलाई यसको अझै बढी महत्व हुन्छ । यीनै बहुमूल्य अवार्ड र सम्मानका प्रमाणपत्रहरु लोकप्रिय गायक राजेशपायल राईले गुमाउनु परेको छ ।

सोमबार दिउँसो उनको काठमाडौं, शान्तीनगरस्थित घरमा आगलागी भएको छ ।

उक्त दूर्घटनामा मानवीय क्षति त भएन, तर राजेश पायल राईले जिन्दगीभरको मिहेनतबाट कमाएमा महत्वपूर्ण अवार्ड जलेका छन् ।

प्रहरीका अनुसार बिजुली सर्ट भएर घरमा घरमा आगलागी भएको पाइएको छ । उनले जुन कोठामा सम्मान र अवार्ड राखेका थिए, सोही कोठाबाट सल्किएको आगोले अवार्डहरु नष्ट गरिदिएको छ ।

उनका छरछिमेकी, प्रहरी र दमकलको प्रयासमा आगो नियन्त्रणमा आएको थियो ।

कार्यक्रमको सिलसिलामा विदेशमा रहेका राईले फेसबुकमा स्टाटस लेख्दै आज भगवानबाट पनि गल्ती भएको बताएका छन् ।

उनले भनेका छन्, ‘गल्ती, कमजोरी मान्छेबाट हुन्छ भन्थे, भगवानबाट पनि हुँदो रहेछ । उनैले दिए, उनैले लगे, उनैले दिनेछन्, एक दिन गल्ती नगरिकन । यो परिस्थितिमा मेरो छिमेकीहरुले दर्साउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिवारप्रति यहाँ परदेशी भूमिबाट हार्दिक नमन ।’