समाचार

उपराष्ट्रपति पुन अष्ट्रिया प्रस्थान

उपराष्ट्रपति नन्दकिशोर पुन अष्ट्रियाको भियना प्रस्थान गरेका छन् ।

उपराष्ट्रपति पुन आगामी जेष्ठ १४ गते अष्ट्रियाको राजधानी भियनामा सुरु हुने ‘अष्ट्रियन विश्व शिखर सम्मेलन’मा भाग लिन आईतबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, पूर्व सभामुख सुवाष नेम्वाङ, मन्त्रीहरुलगायतले विदाई गरेका थिए । त्यस अवसरमा उपराष्ट्रपति पुनको सम्मानमा नेपाली सेनाले सलामी अर्पण समेत गरेको थियो ।

उपराष्ट्रपति पुनले भियनामा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धि अष्ट्रियन विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्येक्रम समेत रहेको छ । त्यसैगरी उनले अष्ट्रिया भ्रमणको क्रममा जेष्ठ १५ गते अष्ट्रियाको इन्सबु्रकमा आयोजना हुने अन्तराष्ट्रिय सगरमाथा दिवस कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम रहेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । उपराष्ट्रपति पुनको भ्रमण टोलीमा उहाँकी श्रीमती हस्तमाली पुन, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलगायतका रहनु भएको छ । उपराष्ट्रपति पुन आगामी जेष्ठ १८ गते शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।