फिचर

कर्णाली प्रदेशमा नागरिकको विपद् बीमा कार्यक्रम लागू

सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्ना नागरिकका लागि विपद् बीमा कार्यक्रम बुधबारदेखि कार्यान्वयनमा ल्याएको छ ।

विपद्‍ जोखिमविरुद्ध सामूहिक दुर्घटना बीमा कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो । यो कार्यक्रमबाट कर्णाली प्रदेशका सबै नागरिक लाभान्वित हुने बताइएको छ ।

बीमा कार्यक्रममा प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख डिल्लीराज अर्यालले हस्ताक्षर गरेका छन् ।

यो कार्यक्रम आन्तरिक मामिला तथा कानुन मन्त्रालयको वार्षिक बजेट तथा कार्यक्रममा मै उल्लेख थियो ।

यस बीमा कार्यक्रम मार्फत कर्णालीका प्रत्येक नागरिकले १ लाख रुपैयाँको निःशुल्क बीमा सुविधा प्राप्त गर्ने कार्यक्रममा जानकारी गराइयो ।

विपद् दुर्घटनाका कारण घरमा क्षति पुगे प्रतिघर ५ लाख रुपैयाँको बीमा सुविधा प्राप्त हुने प्रदेश सरकारको भनाई रहेको छ ।

यस कार्यक्रमका लागि सरकारले चालु आवमा १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सामूहिक रूपमा गरिने बिमाको प्रिमिएमबापत कर्णाली प्रदेशको कुल जनसंख्या १७ लाख ७० हजार मानेर प्रतिव्यक्ति सात रुपैयाँका दरले हुन आउने रकम आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बीमा कम्पनीलाई भुक्तानी गर्ने गरी यो स्कीम ल्याइएको हो ।

नागरिकको एक रुपैयाँ पनि लागत नपर्ने र प्रिमियम सरकारले तिर्ने गरी यो प्रावधान ल्याइएको हो । कर्णाली मानव विकास सूचकांकमा सबैभन्दा धेरै पिछडिएको प्रदेश मध्ये पहिलो स्थानमा रहेको छ ।