रोचक खवर

दशैंका नयाँ नोट १० असोजबाट साट्न सकिने

काठमाडौं । दसैंमा नयाँ नोट १० असोजबाट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो ।

१० गतेदेखि नयाँ नोट साट्न सकिने र त्यसका लागि स्थान तय गरिएको बैंकको भनाई रहेको छ ।

राष्ट्र बैंकका अनुसार काठमाडौंबाहेक बिराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका राष्ट्र बैंक कार्यालयबाट नयाँ नोट साट्न सकिने भएको छ ।

काठमाडौंमा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटार नयाँ नोट सटही हुनेछ। प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट साट्न सकिने बैंकले स्पष्ट पारेको छ ।

५, १०, २०, ५० र १ सयका नयाँ नोट वितरण हुनेछ। त्योबाहेक आफूसँग भएको पुराना नोटको साटो सुकिला नोट साटेर समेत लैजान सकिने सुविधा राष्ट्र बैंकले दिएको छ ।

राष्ट्र बैंकको बालुवाटार कार्यालयसहित उपत्यकाका २५ ठाउँबाट नयाँ नोट साट्न सकिने भएको छ ।

जब राष्ट्र बैंकले नयाँ नोट साट्न थाल्छ, त्यसपछि नेपालीका लागि दशैं आएको अनुभूति हुन्छ । यस वर्ष ११ असोजमा घटस्थापना परेका छन् ।