समाचार

सपना ब्यूझिएकै बेला देख्ने हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको सपना निद्रामा देख्नुको कुनै औचित्य नहुने बताएका छन् । आफ्नो दल र सरकारले देखेका सपना ब्यूझेकै अवस्थामा देखेको भन्दै उनले यी सपना केवल सपना मात्र सिमित नहुने बताएका हुन ।

संविधान दिवसको अवसर पारेर मूल समारोह समितिद्धारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू र आफ्नो दलले विकासको सपना निद्रामा नदेखेको बताएका हुन् ।

जताजतै नकारात्मकताले मात्र छाएको बेला जनतामा अब केही हुन्छ है भन्ने विश्वासको जागरण ल्याउनु समेत आवश्यक रहेको उनले बताए ।

सकियो, भत्कियो, अक केही हुन्न भन्ने मनस्थिति फेर्न र अब केही हुन्छ भन्ने आभास दिलाउन जनतामा आशाको सञ्चार गराएको उनको दावि छ ।

दलको यसै विश्वासलाई जनताले पनि साथ दिएको उनको भनाई थियो । सरकारले विकासको जग बसालिसकेको भन्दै अब नतिजा देखिदै जाने उल्लेख गरे ।

आलोचनाका लागि त तत्काल रेल, पानीजहाज र जलमार्ग खोज्ने गरिएपनि त्यसको जग बसाल्नु पनि मह्तपूर्ण काम भएको प्रधानमन्त्रीको भनाई छ ।

उनले भने ‘म बिनम्रताका साथ स्वीकार्छु । हो, मैले मुर्छित सपनामाथि पानी छम्केकै हुँ । मैले भनेको हुँ, निदाएको बेलामा देख्ने सपना हैन, ब्युँझिएको बेलाको सपना देखौं ।’

नेपालले शुक्रबार देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएको छ ।