समाचार

महासभालाई सम्बोधन गर्न परराष्ट्रमन्त्री न्यूयोर्कमा

कल्पना घिमिरे
न्यूयोर्क/अमेरिका
संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आइतबार बिहान न्यूयोर्क आइपुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यब्यस्तता र केही अस्वस्थताका कारण सहभागी हुन नसकेपछि प्रधानमन्त्रीको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका आइपुगेका हुन् ।
मन्त्री ज्ञवालीका साथ उनकी धर्मपत्नी साहित्यकार सरस्वती ज्ञवाली, राष्ट्रियसभा दिगो विकास समितिका सभापति तारादेवी भट्ट, उक्त समितिका सदस्य दीनानाथ शर्मा, राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, प्रधानमन्त्रीका प्रेस सल्लाहकार चेतन अधिकारी, पुष्पा चौधरी, भरतराज पौडेल, यज्ञ बहादुर हमाल, जं¨बहादुर नेपाली, शरदचन्द्र भण्डारी, लगायत दश सदस्यीय नेपाली प्रतिनिधिमण्डलको टोली अमेरिका आइपुगेको हो ।
साथै महासभामा सहभागी हुनका लागि उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादब, बन तथा वातावरणमन्त्री शक्तीबहादुर बस्नेत र अमरेन्द्र यादब पनि अमेरिका आइपुगेका छन् ।
मन्त्री ज्ञवाली सहितको नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्न अमेरिकास्थित नेपाली राजदुत अर्जुन कार्की, संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि अमृतबहादुर राई, नेपाली महाबाणिज्यदूत पुष्पराज भट्टराई, प्रवासी नेपाली मञ्चका पूर्व अध्यक्ष सञ्जय थापा लगायतको टोली जोन एफ केनेडी अन्तराष्ट्रिय बिमानस्थल पुगेको थियो ।
महासभामा नेपालको पछिल्लो अवस्था, जलवायु परिवर्तन, निरक्षरता उन्मुलन र सबै क्षेत्रमा समावेशीता लगायतका विषयमा मन्त्री ज्ञवालीले सरकारको धारणा पेश गर्नेछन् । मन्त्री ज्ञवालीले आगामी सोमबार महासभामा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीका पे्रस सल्लाहकार अधिकारीले जानकारी दिए । अमेरिका भ्रमणका क्रममा नेपाली समुदायले आयोजना गर्ने बिभिन्न अन्तरक्रिया कार्यक्रममा मन्त्री ज्ञवाली सहभागी हुनेछन् । यसै बिचमा मन्त्री ज्ञवाली सिकागो जाने कार्यक्रम तय भएको छ ।
अमेरिका आइपुगेका तिनैजना मन्त्रीहरुको सहभागितामा न्यूयोर्कमा कार्यरत बिभिन्न नेपाली संस्थाले आगामी बिहिबारका दिन एक बृहत अन्तक्रिया कार्यक्रम गर्ने तय गरेको छ । परराष्ट्रमन्त्री ज्ञवाली, उप प्रधानमन्त्री यादब र वातावरणमन्त्री बस्नेत संग बन तथा बातावरण र ग्लोबल वार्मिङ, नेपालमा बिभिन्न क्षेत्रमा लगानी र यसको सम्भावना, स्वास्थ्य क्षेत्र, स्वास्थ्य बीमा र पब्लिक हेल्थ लगायत बिभिन्न विषयमा अन्तरक्रिया गरिने जनाइएको छ । महासभाको सम्बोधन सकिएपछि अक्टोबर १ तारिक आगामी मंगलबार परराष्ट्रमन्त्री सहितको टोली नेपाल फर्कनेछ ।