समाचार

निजगढ विमानस्थल बनाउन ज्यूरिच विमानस्थलको प्रस्ताव स्वीकृत

काठमाडौं । बारामा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय (निजगढ) विमानस्थल निर्माण गर्न स्वीट्जरल्याण्डको ज्यूरिच एयरपोर्टको प्रस्ताव स्वीकृत गरिएको छ ।

लगानी बोर्डको सोमबार बसेको बैठकले लगानी सम्मेलनका दौरान आएका ७ प्रस्तावमध्ये ६ वटालाई अयोग्य ठहर गरेको हो ।

एक मात्र प्रस्ताव स्वीकृत गरिएको र उक्त प्रस्ताव ज्यूरिच विमानस्थलको रहेको लगानी बोर्डका सीइओ महाप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार बैठकले ज्यूरिचसँग निजगढ विमानस्थल निर्माणका सम्बन्धमा विस्तृत प्रस्ताव माग गर्ने निर्णयसमेत भएको छ ।

यो विमानस्थलका लागि तीन खर्ब लगानी अनुमान गर्दै लगानी बोर्डले गत फागुनमा सम्पन्न लगानी सम्मेलनका दौरान शोकेमा राखेको थियो ।

विमानस्थल बनाउन नेपाली कम्पनी म्याट्रिक्स इन्टरप्राइजेजसहित ७ कम्पनीले चासो देखाएका थिए ।

चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ र चाइना एयरपोर्ट कन्स्ट्रक्सनसमेत विमानस्थल बनाउन इच्छुक थियो ।

भारतीय कम्पनी जीएमआर र फ्रान्सको भिन्ची एयरपोर्टले पनि विमानस्थल बनाउन लगानी सम्मेलनका दौरान प्रस्ताव राखेका थिए ।

ज्यूरिच विमानस्थल स्वीट्जरल्याण्डको सरकारी विमानस्थल हो । यो विमानस्थलले संसारका अन्य देशमा समेत विमानस्थल संचालन तथा व्यवस्थापन गर्दै आएको छ ।

सरकारले लामो समयदेखि यो विमानस्थलमा लगानीकर्ताको खोजी गरिरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको तदारुपताका कारण लगानी बोर्डसमेत द्रूत गतिमा निजगढ विमानस्थलको मूल्यांकन सकाएको छ । यसबाट यो आयोजनाले गति लिने आशा पलाएको छ ।