समाचार

नागरा फल्स घुम्म गएका एकै परिवारका ३ जनाको दुर्घटनामा मृत्यु ६ घाईते

न्युयोर्क
न्युयोर्क नजिकैको राज्य न्युजर्सीबाट नागरा फल्स घुम्न हिडेका एक परिवारको गाडि दुर्घटनामा पर्दा एकै परिवारको ३ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । मेमोरियल डेको सप्ताहान्त पारेर क्यानडाको सिमानामा रहेको नागरा फल्समा छुट्टि मनाउन एस यु भी गाडिमा हिडेको ९ जनाको परिवार आईतबार बिहान साँढे छ बजे दुर्घटनामा परेको हो । मृत्यु हुनेमा एउटा ४ बर्षीय बच्चा समेत छन् भने अन्य ४ जना साना केटाकेटीहरु घाईते भएका छन् ।
अनुसन्धानकर्ताहरुका अनुसार स्टप चिन्ह भएको इन्टरसेक्सनमा रोकिएर जानु पर्ने पिक अप गाडि नरोकिकन जाँदा ९ जना सवार एस यु भीलाई हिर्काउन पुगेको थियो । पिकअप गाडिको चालकले मादक पदार्थ प्रयोग गरेर गाडि चलाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मादक पदार्थ प्रयोग गरि गाडि चलाएर दुर्घटना गराउने २० बर्षीय रिचर्ड साविस्कीलाई २ लाख अमेरिकी डलर बोण्ड रकम तोकिएको छ । दुर्घटना बफेलो बाट ३० माईल्स दक्षिण पूर्वको सेल्डोन नामक सानो सहरमा भएको थियो ।
दुर्घटनामा ज्यान गुमाउने तथा घाईतेहरुको परिचय हाल सम्म खुलाईएको छैन ।

एजेन्सी