समाचार

राष्ट्रसंघ महासभामा नेपालको सम्बोधन, 'गरिब मुलुकमाथि जलवायु परिवर्तनको अन्यायपूर्ण असर'

न्यूयोर्क । संयुक्त राष्ट्रसंघको महासभालाई नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले सम्बोधन गरेका छन् । उनले खासगरी जलवायु परिवर्तनका मुद्दालाई जोडदार रुपमा विश्वसामू राखेका छन् ।

गरिब देशले जलवायु परिवर्तनका अन्यायपूर्ण र औचित्यहिन असर भोग्नु परिरहेको भन्दै उनले नगण्य उत्सर्जनले पनि नेपालजस्ता मुलुकले जलवायु परिवर्तनको असर भोग्नु परेको उल्लेख गरे ।

हिमनदीहरु पग्लिएर भइरहेको क्षयीकरणलाई नेपालल यस महासभामा उठाएको छ ।

जलवायु परिवर्तनका असर न्यूनिकरणमा तत्काल आवश्यक कदम चाल्नु पर्ने भन्दै उनले गल्ती नगर्दा नगर्दै पनि जलवायु परिवर्तनका कारण आउने प्राकृतिक विपत्तिका कारण बर्सेनि थुप्रै नेपाली नागरिकले ज्यान गुमाउनु परेको उनले उल्लेख गरे ।

उनले यसै वर्ष आएको आँधि र बाढी पहिराको सन्दर्भ समेत उठान गरेका छन । सगरमाथाको देश नेपाल जलवायु परिवर्तनको केन्द्रमा रहेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले जलवायु परिवर्तनको असरसँग जुध्न संयुक्त राष्ट्र संघले प्रयास गर्नुपर्ने उनको माग छ ।

नेपालले इजरायल र प्यालेस्टाइनबीचको समस्या समाधानमा जोड दिएको छ । अमेरिका र उत्तर कोरियाबीचको संवादको स्वागत गर्दै नेपालले कोरियाली प्रायद्वीपमा स्थायी शान्तिको समेत कामना गरेको छ ।

नेपालले आप्रवासी कामदारका हक अधिकार र सुरक्षाको प्रत्याभूति नेपालको प्राथमिकता भएको उल्लेख गरे ।

महासभालाई भारतीय र पाकिस्तानी प्रधानमन्त्रीले पनि सम्बोधन गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विश्वलाई गौतमबुद्ध दिएको भन्दै युद्ध नचाहेको उल्लेख गरे ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले युद्ध चाहे आफ्नो देश पनि पछि नपर्ने सन्देश दिए । आणविक शक्ति सम्पन्न मुलुक युद्धमा होमिनुको मतलव त्यसको असर सीमाना भन्दा धेरै परसम्म पुग्ने चेतावनी पाकिस्तानी प्रधानमन्त्रीले दिएका छन् ।