समाचार

आज घटस्थापना, शुरु भयो दशैं

काठमाडौं । हिन्दु धर्मावलम्बीको महान पर्व दशैं आजदेखि शुरु भएको छ । हिन्दु धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्वमा आज प्रतिपदाका दिन घटस्थापना मनाइन्छ ।

बडादशैंको पहिलो दिन घटस्थापनामा घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी जौं रोपिन्छ ।

नेपाल पंचांग निर्णायक समितिले घटस्थापनाको शुभ साइत बिहान १०ः३५ तोकेको छ ।

गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा र दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म बडा दशैं धुमधामसहित मनाइन्छ । विजयादशमीको दिन ठूलाबडाको हातबाट टिका लगाउने र आर्शिवाद लिने प्रचलन छ ।

यो चाडलाई मिठो खाने र राम्रो लगाउने चाडका रुपमा लिने गरिन्छ । जौको टुसा दुर्गा देविको प्रिय वस्तु मानिन्छ । आजदेखी हरेक दिन भगवतीको पूजा आरधना शुरु हुन्छ । यस वर्षको विजयादशमी २१ असोजमा परेको छ ।