फिचर

मेलम्चीको पानी एक वर्ष भित्र काठमाडौं आउला ?

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकि काम पुरा गर्न एक वर्षको प्रतिवद्धतासहित चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरेको छ ।

आइतबार सम्पन्न सम्झौता अनुसार चिनियाँ कम्पनीले पनि अब आयोजनाको बाँकि काम १ वर्ष भित्रै सक्ने बताएको छ ।

एक सालमा पुरा गरे सरकारले आयोजनालाई पुरस्कारस्वरुप बोनस समेत दिने भएको छ । मेलम्ची सरकारका लागि निकै पेचिलो बनेको छ ।

त्यसो त सरकारले निकै आलोचना पनि यस आयोजनाका कारण बेहोरिरहेको छ ।

यसबाट पार पाउने उपाय स्वरुप यस पटक भने सरकारले आयोजनाको जिम्मा पाएको कम्पनीलाई बोनसकै घोषणा गरेको छ ।

मेलम्चीको बाँकि काम असोज अन्तिम साताबाट शुरु हुने भएको छ । सिनोले समय अगावै काम सके प्रोत्साहन भत्ता दिइने आयोजनाको भनाई छ ।
छिटो काम सकेमा प्रतिदिन १२ लाख ७५ हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउने गरी सम्झौता भएको बताइएको छ ।

उता, काममा ढिलाई भएमा भने सिनोले दिनमा १२ लाख ५० हजार रुपैयाँका दरले जरिवाना तिर्ने गरी द्धिपक्षीय सम्झौता भएको छ ।

सिनोले सुरुङमार्गको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार, ग्याल्थुमको पहुँचमार्ग, पुलको पुनर्निर्माण, क्याम्पहरुको मर्मत सुधारलगायत काम गर्ने भएको छ ।

मेलम्ची आयोजनाको काम शुरु भएको दुई दशक पुगिसक्दा पनि काठमाडौंमा पानी आउन सकेको छैन ।