समाचार

गाँऊ मै पुगेर नागरिकता बाँडियो

ओखलढुङ्गा

खानी भञ्ज्याङमा सञ्चालित घुम्ती शिविरमा १५५ जनालाई नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय र चिसङ्खुगढी गाउँपालिकाले संयुक्त रूपमा आयोजना गरेको एकीकृत घुम्ती शिविरमा उनीहरूलाई नागरिकता वितरण गरिएको हो ।

नागरिकता बनाउनेमा वृद्धवृद्धा, फरक क्षमता भएका व्यक्ति,एकल महिलालगायत रहेको प्रजिअ गणेश आचार्यले बताउनुभयो । “सहजै सरकारी सुविधा उपलब्ध गराउन शिविर सञ्चालन गरेका हौँ,” उहाँले भन्नुभयो, “सरकारी सेवालाई सहज र सुलभ बनाउन गाउँमा हाम्रो उपस्थिति बढाएका हौँ ।” जिल्लाका अन्य स्थानीय तहसँग समन्वय गरी शिविर गाउँगाउँमा सञ्चालन गरिने उहाँको भनाइ छ ।

शिविरमा प्रशासन, प्रहरी, मालपोत, कृषि, स्वास्थ्य, घरेलु, निर्वाचनलगायत कार्यालयले सेवा उपलब्ध गराएको थियो। सो अवसरमा १५६ जनाले स्वास्थ्य जाँचससमेत गराएका थिए । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति शिविरबाट बढी लाभान्वित भएका छन् ।

रासस