समाचार

विश्वका २३ देशमा नेपाली रक्तदाता संघ बिस्तार

प्रेम लामिछाने
फ्रान्स
नेपाली रक्तदाता संघ, फ्रान्सको उद्घाटन तथा शपथ ग्रहण समारोह फ्रान्सको कुर्कुरोनमा सम्पन्न भएको छ । फ्रान्ससँगै अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ विश्वको २३ वटा देशमा बिस्तार भएको छ । गैरआवासीय नेपालीहरुबीच रक्तदान गर्न प्रोत्साहन गर्ने उद्देश्यले विश्वका विभिन्न देशहरुमा बिस्तार भएसँगै यो संस्थाको स्थापनाले रक्तदानको क्षेत्रमा युरोपमा विशेष भूमिका खेल्ने विश्वास गरिएको छ ।
नेपाली रक्तदाता संघ, फ्रान्सका अध्यक्ष अनिस त्रिपाठीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले कार्यसमितिलाई बधाई तथा शुभकामना दिंदै रक्तदान जस्तो मानवीय कामले कसैलाई विभेद नगरी सबैलाई जोड्ने बताए ।
कार्यक्रममा एनआरएन फ्रान्सको अध्यक्ष नरेन्द्र शाही, विशिष्ट अतिथि अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका अध्यक्ष अजय सत्याल, उपाध्यक्ष एभरेष्ट गौतम, संस्थापक सदस्य तथा नेपाली रक्तदाता संघ, फ्रान्सको संरक्षक प्रशान्त उप्रेतीद्वारा संस्थाको उद्देश्य, गतिविधि र रक्तदानको विषयमा आफ्नो अनुभव साट्दै रक्तदान कार्यक्रममा सहभागी भई सहयोग गर्न आह्वान गरेका थिए ।
त्यसैगरी अन्य अतिथिका रुपमा फ्रान्स–नेपाल मैत्री संघका अध्यक्ष विनोद खकुरेल, एनआरएन फ्रान्सका पूर्वअध्यक्ष तथा प्रवासी नेपाली एकता मञ्च फ्रान्सको संयोजक भक्तबहादुर वाग्ले, एनआरएन फ्रान्सका उपाध्यक्ष अमर भण्डारी, पूर्वउपाध्यक्ष हरि सापकोटा, नेपाली जनसम्पर्क समिति फ्रान्सको सभापति सुधिर राना, नेपाली एकता समाज फ्रान्सका अध्यक्ष प्रमोद पाण्डे, इनास फ्रान्स अध्यक्ष प्रविन सापकोटा, तामाङ घेदुङ फ्रान्सका प्रतिनिधि सुरेश लामा तामाङद्वारा नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।
केही समयअघि अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघले नेपालमा रक्तदानको क्षेत्रमा विशेष योगदान पु¥याउने २१ व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको थियो । सो अवसरमा सम्मानित भएका प्रशान्त उप्रेतीलाई संस्थाका अध्यक्ष अजय सत्यालले रक्तदानको क्षेत्रमा विदेशमा रहेर पनि निरन्तर सहयोग र योगदान गरेबापत सम्मानपत्रले सम्मानित गरिएको बताए ।
नेपाली रक्तदाता संघ फ्रान्सको पहिलो रक्तदान कार्यक्रम सेप्टेम्बर १७ का दिन फ्रान्सको इभ्री कोर्कोरनामा करिब ५२ जनाको सहभागितामध्ये ३० जनाले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।
‘रगतले जोड्छ’ भन्ने मूल नारासहित स्थापना भएको नेपाली रक्तदाता संघ फ्रान्सले आयोजना गरेको उक्त कार्यक्रममा नेपालीबाहेक अन्य देशका व्यक्तिहरुको पनि उल्लेखनीय सहभागिता रहेको थियो । रक्तदान कार्यक्रमलाई फ्रान्सको रक्तदान केन्द्र इएफले पूर्ण सहयोग गरेको थियो भने आगामी दिनमा प्रशिक्षण दिने तथा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।
कार्यक्रममा युवा चित्रकार विश्रान्त सेन्चुरीले रक्तदानसम्बन्धी लाइभ पेन्टिङ गरेका थिए । नेपाल रक्तदाता संघ फ्रान्सका युवा संयोजक महेश शर्मालाई परेको पितृ शोकको स्मरणमा मृत आत्माको चिरशान्तिका लागि १ मिनेट मौन धारणा गरिएको थियो ।