कला / साहित्य

लघुकथा : ओईलाउँदै गएका टीकाहरु

प्रेमकृष्ण श्रेष्ठ / कीर्तिपुर

२०७३ सालको दशैंमा…

बाबुले छोरालाई मोवाइलमा हेर्दै उत्साही स्वरमा बोल्यो, ‘कान्छु, जसरी भए पनि यो दशैमा आउनु है ।’

मोवाइलबाट आवाज सुनियो, ‘यसपाली अफिसमा कामको चाप नै बढी छ बा । फेरि दशैं हामी अमेरिकामा पनि धुमधामै मनाउँछौँ नि । बरु हजुरहरुलाई दशैं आनन्दले मनाउन एक लाख पठाइदिन्छु नि बा।’

‘कुरा पैसाको होइन । मात्र टीका ओइलाउला की भन्ने चिन्ता हो ।’

‘दाईलाई बोलाउनुस न बा, यो दशैंमा, मेरो त कुनै सम्भावना छैन ।’ मोवाइलबाट छोराको आवाज आयो ।

‘तेरो दाजूलाई पनि काम थुप्रो छ रे यो वर्षमा, तैले जस्तै उस्ले पनि जर्मनीबाट पचास हजार पठाउँदैछ । ल भैगो ब्यस्त भए, भन्नु केही छैन । धन्य छोराहरु, तिमीहरुको कृपाले यो दशैं हामी बुढाबुढीले चाँदीको जमरा र सुनको टीका लगाएर टार्ने भयौँ । सवैका छोराछोरी तिमीहरु जस्ता होऊन् । डेढ लाखले म के मात्र गर्ने ?’ बाबुले यति भन्दै रुँदै फोन राख्यो ।

२०७४ सालको दशैंमा…

गएको शिवरात्रीमा, सत्तरी वर्ष लागेको बाबुले छोरालाई भिडियोमा नाप्यो । छोरालाई अझै लम्वाई र चौडाइमा हेर्ने इच्छाले उपलब्ध प्रबिधिको सहारा लियो । छोराको बडेमान शरीरको सजिवता, काँचको पर्दामा स्यानो सजिवतामा चल्मलाएको देखेर होला, बाबुको आँखाबाट दुईथोपा आँसु तरक्क चुहायो । बाबुले आँसु पिउँदै सोधे – ‘कान्छा, अव तँ कैले नेपाल आउँछस् ?’

‘हेरौँ, बुबा अव बिदा भयो भने आउँछु, सायद दशैतिर आउँछु कि !’

छोराले दशैतिर आउँछु कि ! भनेपनि बुढाको आशामनले छोरा दशैतिर आउँछ नै भन्ने बुझ्यो ।

‘हुन्छ, कान्छु, यसपालि दशैंमा तेरो नाममा पनि टीका अलि बढी मुछेर राख्छु है ।

जसरी भए पनि आउनु । तेरी आमाले तेरो नाम लिन थालेको पनि वर्षो भइसक्यो ।’

विडम्वना, छोरा त्यो सालको दशैमा पनि आएन ।

२०७५ को दशैंमा…

यो साल, छोरालाई आइपेडमा ओछ्याएर भलाकुसारी गरेपछि बाबुले भन्यो –‘कान्छा, आऊ यो दशैंमा जसरी भए नि, तेरी आमा विरामी छे । तेरो मात्र नाम लिइरहन्छ ।’

‘बुवा यो वर्ष त मेरो झनै भ्याउँदैन । बरु आमालाई एकपटक मोवाइल दिनुस न दर्शन गरुँ ।’ बाबुले आफ्नी रोगी स्वास्नीलाई मोवाइल दिँदै बोल्यो–

‘ला, तेरो कान्छुको दर्शन गर ।’

आमाले चाउरिएको हातले समातेको आइपेडबाट एक भद्र पुरुष स्वर कोठैभरि गुँजियो, ‘आमा, दर्शन ! के गरुँ आमा, निधारमा टीकाको प्यास छ नि त । अम्रिका थाहै छ नि हजुरलाई दिनरात फुर्सद हुँदैन । दुख नमान्नु होला आमा, यसपालि पनि पोहरझैँ फोटैमा टीका लगाइदिनुस न है ।’

२०७६ को दशैंमा…

यो दशैंमा भने छोरा आफैले फोन गरी खुसीले गदगद हुँदै बोल्यो–

‘बुबा हजुर, यो दशैंमा म घर आउँदै छु । हामीले हजुरहरुको निम्ति धेरै सामान जोरजाम गरेको छौँ । हजुरको निम्ति आइपेड र आमालाई अमेरिकाको महँगा साडीहरु…।’

यो वर्ष बाबुको स्वरमा गतसाल झैं उत्साह थिएन । आवाज गलेको थियो । त्यही ओइलाएको स्वरमा आफूलाई सम्हाल्दै बोल्यो–

‘पर्दैन कान्छा, अव आउन । तेरी आमाले भर्खर मात्र तेरो नाम लिएर प्राण त्यागेकी छे । तैले इच्छा नै गरेको हो भने नआइजो पनि भन्दिनँ । सिधै आर्यघाटमा आउनु । केही ल्याउनु पर्दैन तैले अम्रिकाबाट । कान्छा पनि होस्, दागबत्ती अझै हामीले तेरै नाममा छोडेर राख्या छौँ । चौबीस घण्टा समय दिन्छौँ, पुगिस् भने तैले झोस्न पाउँछस् , होइन भने त्यो पनि हामी मेसिनलाई सुम्पिँदै छौँ । अँ, लेकटप, मोबाइल, टिभी केही पनि ल्याउनु पर्दैन है । आउँदा, अमेरिकाबाट एउटा सेतो कपडा, बास्नादार धुपहरु र सके थोरै दाउरा लिएर आउनु है । हामीले अहिलेसम्म पाएको सवैभन्दा मूल्यवान् कोशेली सम्झेर थाप्नेछौँ । दशैंचाँही मनाइन्न यसपालि । टीका जुठो भो कान्छु, फेरि ओइलाइ पनि सकेको छ । यो घराँ, अब कुनै पनि दशैंमा टीका फुल्दैन’, उताबाट छोराले दशपटक हेलो, हेलो भनेपनि यताबाट केवल सुँक्कसुँक्कको मात्र प्रत्युत्तर आईरह्यो ।