मनोरञ्जन

प्रवासी नेपालीको बडादशैं

गीता खत्री / न्यूयोर्क

बडादशैं नेपालीहरुको सबैभन्दा लामो र ठूलो राष्ट्रिय पर्व हो । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म पन्ध्र दिन विभिन्न देवीहरुको पूजाआराधना गरेर चलिरहन्छ । प्रतिपदादेखि नवमीसम्मका नौ दिनलाई नौरथा भन्ने गरिन्छ । हिन्दुहरुको घरमा घटस्थापनाको दिन नदीबाट शुद्ध पानी र बालुवा ल्याइ जौको जमरा राखेर दशैंको शुरुवात गरिन्छ । नौ दिनमा नौवटा देवीहरुको पुजा आराधना गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौ दिन कालरात्रि, आठौं दिन महागौरी र नवौ दिन सिद्धिदात्रीको पूजा अर्चना गर्ने चलन छ । नौरथाभरि विभिन्न पीठ तथा तीर्थस्थलहरुमा गई नवदुर्गाको पूजाआराधना गर्नाले दुर्गा भवानी प्रशन्नभई आफ्ना भक्तहरुको अनुकूलभई सुखशान्ति तथा सम्बृद्धि बढ्ने विश्वास हिन्दु धर्माबलम्बीहरुमा छ । दशमीको दिनलाई असत्यमाथि सत्यको विजय भएको दिनको रुपमा हर्ने गरिन्छ । बर्ष दिनसम्मको विभिन्न पारस्पारिक रिस राग, झै-झगडा कलह आदिलाई बिर्सेर पारस्पारिक मित्रता, पारिवारिक माया प्रेम सद्भाव, मेलमिलाप गराउने पर्बको रुपमा पनि दशैलाई लिइन्छ ।

आधुनिक विकासको क्रमसंगै दशैंको परम्परागत शैलीमा पनि विस्तारै परिवर्तन आइरहेको देखिएको छ । हामी केटाकेटी बेलामा नयाँ लुगा र बाँसका खम्बामा पिङ झुडिएपछि गाउँघरमा दशैं आएको आभाष हुन थाल्दथ्यो । कतैकतै रोटे पिङ र चर्खे पिङ पनि देखिन्थे तर सजिलोको हिसाबले लिङ्गे पिङ सबैतिर देखिन्थ्यो । केटाकेटीको काम चौविसै घण्टा पिङमा झुण्डने हुन्थ्यो । साथीहरुबीच कसले बढी मच्चाउन सक्ने भन्ने प्रतिस्पर्धा पनि हुन्थ्यो । पिङको कारणले आमाबाबुलाई केटाकेटीहरुले साह्रै दुःख दिएको गुनासो नभएको पनि होइन तर त्यतीबेलाका केटाकेटीले रमाउने त्यो बाहेक अरु साधान के नै थियो र ? त्यसले समयसमयमा गाली गर्दै सहने क्षमता उहाँहरुसंग थियो ।

बर्षायाम सकिएपछि जाडो शुरु नहुदैं आउने यो पर्बमा मौसम पनि रमणीय हुन्छ । विहान अलिअलि हुस्सु आउने दिउँसो मज्जाले घाम लाग्ने, न गर्मी न जाडो । सबैलाई मिल्ने अनुकूलीय समय । त्यसैले होला नेपालले यसलाई राष्ट्रिय चाडपर्वको रुपमा लिएको । अमेरिका प्रवेश भएको केही बर्षसम्म उतैको ह्याङओभरले मलाई थिचिरह्यो । दशैंको बेलामा आमाबुवासंग फोनमा कुरा गर्यो फोनैबाट आशीर्वाद लियो, आफ्नो भागमा पर्ने दक्षिणाको अभिलेख राख्यो, अनि काममा हिड्यो सकियो । समयले हामीलाई निकै टाढा पुर्याइ सक्यो अहिले । त्यही जोश, त्यही जाँगप र त्यही शक्ति नभएको महसुस भइरहेको छ ।

बिहान उठनासाथ झ्यालबाट बाहिर हेरेँ । न्यूयोर्क सहर हुस्सुले डम्मै ढाकिएको रहेछ । एक्कैछिन म मेरो पच्चिस बर्ष अघिको जीवनको सम्झनामा पुगेँ । नेपालमा दशैतिहारको बेला बिहानै यस्तै हुस्सु आउथ्यो । नेपाली पात्रो हाम्रो पात्रो हेर्न पुगेँ, हो त दशैं त आइ सकेको रहेछ । हुस्सु त्यसै आएको होइन रहेछ, दशैतिहारको निम्ता दिन आएको रहेछ । त्यसपछि अनलाइनका झर्रा खबरहरु पढ्न थाले, फेसबुके पानाहरु पल्टाउन थालें । नेपालमा गरेको पण्डित्याइ तथा ज्योतिष शास्त्रको गहिरो अनुभव बोकेर यता अमेरिकातिर पनि सोही प्रभाव गाड्न कम्मर कसेर हिँडेका पण्डितहरु तथा पूजा गर्दागर्दै बनेका पण्डितहरुबीच दशैंको टिका सोमबार हो की मंगलबार हो भनेर फेसबुके बादबिबाद प्रतियोगिता पनि देखेँ । कस्को जीत कस्को हार म त्यता लागिन । नेपाली पात्रोमा मंगलबार दशैंको टिका भनेर लेखेको देखें । नेपालका मान्यजनहरु तथा साथीभाइहरुसंग दशैंको टिका कुन दिन हो भनेर सोधनी गरें । सबैले मंगलबार भनेर उत्तर दिनु भयो । त्यसपछि मलाई बादबिवादको कुनै अर्थ लागेन । प्रवासमा विदा लिन कठीनै हुन्छ तर पनि यस्तै पर्बहरुका लागि भनेर जोगाइ राखेको बिदा टिकाको दिनको लागि लिने निर्णय पनि गरें ।

केटाकेटी बेलामा टिकाको दिनदेखि रमाइलो र महत्वपूर्ण लाग्ने पक्ष थियो दक्षिणा । कसले कति दक्षिणा जम्मा गर्न सक्ने हो चुनौतिको बिषय थियो । धेरै दक्षिणा दिने मान्यजनहरुका घरमा जान हतार लाग्थ्यो, थोरै दिनेमा पछि गए पनि हुन्थ्यो भन्ने लाग्थ्यो । आजका केटाकेटीहरुलाई न त्यो दक्षिणाको महत्व छ, न अरुको आशीर्वादको खाँचो छ । अरुको आषिसमा कम विश्वास लिने परम्पराको थालनी भएजस्तो मैले ठानेकी छु । काठमाण्डौको मान्छे भएकोले आफ्नै वरिपरि देखेको र सुनेको कुराहरु अरुसंग बाँड्दा राम्रै होला भनी शहरका स्थानीय नेवार जातिले दशैलाई कसरी हर्ने गर्छन भन्ने बारेमा एउटा सानो सुनेको कथा यहाँ उल्लेख गर्नु उचित लाग्यो ।

काठमाण्डौको तलेजु मन्दिर नदेख्ने मान्छे शायद कमै होलान । महाअष्टमीको दिनमात्र यो मन्दिर सबैका लागि दिनभरी खुल्ला रहन्छ । अष्टमी र नवमीको बीचको रात्रिलाई कालरात्रि भनिन्छ र रातभरि यहाँ गुप्त पूजा गरिन्छ । नेवारहरुले नवमीको दिनलाइ मोहनी पनि भन्दछन् । एकपटक दैत्यराजका दाजुभाइ शुम्भ–निशुम्भ महामाया भगवतीलाई देखेर मोहित भएछन् । उनिहरुले भगवतीसंग विवाहको प्रस्ताव राखेछन् । भगवती उनिहरुको अत्याचारबाट रुष्ट थिइन र उनिहरुको बधको प्रतिक्षामा थिइन । यो राम्रो मौका देखेर भगवतीले भनिन विवाह गर्न म तयार छु, तर मेरो पनि एउटा शर्त छ ।

तिमीहरुलाई मन्जुर छ भने म तिमीहरुको प्रस्ताव स्वीकार गर्न सक्छु । शुम्भ–निशुम्भ दुबैले एकैचोटी भनेछन्– हामीलाई तिम्रो सबै शर्त मन्जुर छ । भगवतिले आफ्नो शर्त अगाडि सारिन र भनिन्– जसले

मलाई युद्धमा जित्न सक्छ, उसैसंग म बिबाह गर्नेछु । युद्धमा दैत्यराज शुम्भ–निशुम्भ लगायत सारा दैत्यहरु मारिए । दैत्यहरुको संहार देखेर बांचेका दैत्यहरु हांस, बोका, राँगा, कुखुरा आदि पशुपक्षीमा प्रवेश गरेर अदृश्य भएछन् । भगवतीले त्यो कुरा थाहा पाएर नवमीको दिनमा ती सबै पशुपन्छिलाई खोजीखोजी बध गरिछिन् । त्यसैको सम्झनामा नवमीको दिन खसी, बोका, हाँस, कुखुरा, राँगाको बलि दिने चलन चलेको हो अरे । भगवतीले मोहनी रुप धारण गरेर दैत्यहरुको संहार गरेकी हुनाले नवमीको दिनलाइ मोहनी पनि भनेको हो ।

बिक्रम सम्बत २०७६ को बडादशैं हाम्रो सामु बडो ठाँटबाठका साथ आइसकेको छ । मन्दिरहरुमा जमरा राखेर पुजारी बाजेहरु दुर्गाकबच पढ्न थालिसकेका छन् । प्रवासमा बस्नेहरु पनि पूजा लगाउने, स्पोन्सर गर्नेहरुको घुइचाो भइसकेको छ । भ्याउने जान्छन् नभ्याउने जांदैनन् । कसैले घरमै जमरा राखेर नवदुर्गा भवानीको पूजा गरिरहेका छन् । हामी यिनै मध्येका एक भएकाले चटारोमै छौं । हाम्रो परम्परा र मान्यता अनुसार दशैंको टिकामा आफ्नो घरमा टिका लगाउन आउनु होस भनेर कसैलाई पनि निमन्त्रणा दिनु पर्दैन् । मौका मिलाउदै आफै जाने हो । प्रवासको बसाइ समयसंग चल्नु पर्ने भएकोले कति बेला आउने वा कुन बेला आउदा अनुकूल हुन्छ त्यो बुझेर जाने हो । एकातिर मान्यजनहरुको घरमा आपैm जाने, टिका र जमरा लगाइ आशीर्वाद लिने हो भने अर्कोतिर आफुले माया गर्नु पर्नेहरुलाई आफ्नो घरमा बोलाउने, टिका र जमरा लगाइ आशीर्वाद दिने हो । छोरी मान्छे र ज्वाईचेलाहरुलाई दक्षिणासमेत दिइ आफुले सकेको मीठो खाना खुवाएर पठाउनु पर्छ । बिमुख पठाउनु अपशकुन ठानिन्छ ।

बडादशैंको बारेमा जे जस्तो परिर्वतन तथा संस्कारको आगमन भएपनि नेपालीहरुले यसलाई सहर्ष स्वीकार गरिरहेकै छन्। जे जति गर्न सक्छन् गरेकै पनि छन् ।कनुै अन्धविश्वासी परम्परा तथा संस्कार जस्तो लाग्छ भने सबैलाई मान्यखालको त्यस्तै अर्को परम्पराको थालनी गर्न नसकिने पनि होइन । तर पुरानो परम्परा हटाउने अभियानमा सबै बिकृतिहरु भित्र्याउने कुकृत्य तथा दुस्साहसी काम हुन नजाओस् । नयाँ परम्पराको थालनी गर्नु अगाडि त्यसको राम्रा नराम्रा पक्षको विस्तृत विवेचना गरेर सदियौसम्म चल्न सक्ने परम्परालाई मात्र अगाडि बढाउँदा राम्रो हुनेछ ।

अहिलेका केटाकेटीहरु भौतिक विकासले गर्दा र विभिन्न उपकरणहरुको सुविधाले गर्दा धार्मिक साँस्कृतिक तथा सामाजिक कार्य तथा परम्परागत पहिरनप्रति नकारात्मक सोच राख्दै आएको देखिन्छ । यस्तो परिस्थितिमा यसै महान पर्वका बेलामा उनिहरुलाई आप्mनो देशप्रतिको माया तथा ईमान्दारिता, धर्म तथा संस्कार, आफ्नै स्थानीय वेशभूषा लगाउन लगाएर सिकाउने अवसर पनि हो । उनिहरुसंगै बसेर खाना खाने, हाटबजार मेलामा संगै जाने, सकारात्मक कुराहरुको ज्ञान दिने बेला पनि हो । यसो गर्दा आमाबाबु तथा केटाकेटीहरुबीच स्कूल र पढाइले सिर्जना गरेको दूरीलाई कम बनाउन मद्दत पनि हुन्छ ।

मैले भरखरै सुनेको नेपाल आर्मीले दशैंभरि सितैमा बस सुविधा दिने भएको छ अरे । त्यो पनि एउटा सामाजिक सेवा नै भयो । कतिपय बृद्धाआश्रमहरुमा आश्रय लिइ बसेका बुढाबुढीहरुका निमित्त पनि दशैंको कार्यक्रमहरुको आयोजना र दशैंमा खसीको मासुभात तथा अन्य मिठाइहरु खुवाउने व्यवस्था धन हुने र मन हुनेहरुले मिलाई रहेका छन् अरे । त्यस्तै अनाथालयहरुमा पनि केटाकेटीहरुलाई नयाँ लुगा दिने र मासुभात खुवाउने कामहरु भइरहेका छन् भन्ने सुन्दा एकदम खुसी लागिरहेको छ । अनाथ बालबालिकाहरुको लागि त्यो भन्दा माथि उठेर उनिहरुलाई पढाउने व्यवस्था मिलाई दिए अझ कति राम्रो हुन्थ्यो होला । सबैले सकारात्मक सोच बनाएको अवस्थामा यस्तो नहोला भन्न सकिन्न ।

गतबर्ष निकै लामो समयपछि आमाबुवाको हातको टिका थाप्न नेपाल पुगेंको थिएँ । त्यसभन्दा अगाडि भाग्यले साथ दिएर आमाबुवानै यही आउनु भएकोले न्यूयोर्कलाई नेपाल बनायौं । मामामाइजु, काकाकाकी, दाजुभाइ, दिदीबहिनी सबै यता बनायौं । माया र आशिर्वाद साटासाट गर्यौं । निकै उत्साह र उमंगका साथ बितायौं । प्रवासको बसाई कामलाई प्राथमिकता दिनु पर्छ । लामो विदा मिलाउन निकै गाह्रो हुन्छ । काममा चोरी गर्न मिल्दैन । कामको दिनमा न त फेसबुक चलाउनै मिल्छ, न कुनै कार्यक्रम टोपी टेबुलमा राखेर जान पाइन्छ । न त काम भ्याइन भन्न मिल्छ । कमजोरी फेला पारेको भोलिपल्टदेखि कामबाट हात धुनु पर्छ । यसपालीको टिका मंगलबार परेकोले रातीराती मात्र टिका लगाउन बाध्य भएका छौं । अर्को सालको टिका करिब करिब सप्ताहन्तमा परे कति मज्जा हुने थियो ।

यसपालीको बिजया दशमीले सबैको सम्बृद्धि, सबैको समुन्नति तथा उत्तरोतर प्रगति बोकेर आओस् नवदुर्गा भवानीले सबैको कल्याण गरुन् ।