घूमघाम

कीर्तिपुरको त्यो एक चोक - तुँचोक

प्रेमकृष्ण श्रेष्ठ

“समय जति निष्ठुर के छ र ? मेरो बाल्यकाल खोसेर, बदलामा जवानी दिई म चोकको राजालाई दास बनायो” ।

धेरै लेखकले विश्व लेख्यो, देश लेख्यो, प्रदेश लेख्यो, अञ्चल, जिल्ला, गाउँ र शहर लेख्यो । विराट कल्पनामा कल्पिन सक्नेले पूरै अमेरिका लेखुन्, रसिया, चीन, जापान वा अरु कुनै देश लेखुन् । तर, यतिबेला मेरो लेखकीय मानसपटलमा मात्र एउटा चोक अटाएको छ । कीर्तिपुरको बाहिरीगाउँमा अवस्थित सानो एक चोक, अर्थात ‘तुँचोक’ । तुँ यानी इनार र इनार भएको चोक भएकोले तुँचोक । म सानै लेखक सानै सोचाइ ! यो भौगोलिकरुपमा विराट चोक पनि होइन । यहाँ इतिहासको कुनै कालखण्डमा कुनै कोटपर्व  पनि भएको छैन । यसैले इतिहासको कुनै पानामा लेखिन योग्य पनि छैन यो चोक, किनभने यहाँ त्यस्तो सम्झन योग्य कुनै घटनाको उतारचढाव छैन । तर मेरो जीवनको अन्तिम क्षणसम्म पनि सम्झिन्छु यस्लाई, कारण, मेरो सिङ्गो बाल्यकाल यही ‘तुँचोक’सित जोडिएको छ ।

म हजारपटक खेलेको छु यो चोकमा, लडेको छु, लडेर उठेको छु । यो चोकको माझमा उभिँदा आज पनि म थुप्रै मेरा बाल्यकालका हितैषी साथीहरु सम्झिन्छु, श्रवणकुमार, सुमन, बिनेश, हरिकृष्ण, सञ्जय, केविन्द्र, जेनर आदि इत्यादि । यो चोकमा आएर मलाई बोध भयो, साँच्चै भन्ने हो भने हिजोको धर्ती बाँकी छ न आकास नै । साथीको पिठँयुमा बसेर आकासमा हेर्दै साथीले आकासमा के के भनेर सोध्दा बुढाबुढी छ भनेर देख्ने त्यो आँखा पनि कतै मरिसकेका छन् । ती अमूल्य ढुँगाहरु जस्ले हाम्रो गरिवी पहिचान गरी, कैयन खेल खेलाइयो हामीलाई सायद अव ती ढुँगाहरु बाटोको छेउछाउतिर कतै अलपत्र छ । ढुँगालाई हीरा मानेर, खेल्नेहरु कोही छैनन् । आजका बालबालिकाले ढुँगामा खेल देख्दैनन् । भोगटेमा फुटबल देख्दैनन् । कपडाको सानो टालोमा पनि एउटा मीठो र स्वर्गीय खेल छ भनेर आजका बालबालिकाले भुलिसकेका छन् । यसैले त यो चोकमा कोही बालबालिका खेल्दैनन् आज । शुन्यप्रायः छ त्यो चोक आज  । यही चोकको वीचमा एउटा गहिरो इनार छ, त्यो इनारको ऐना फुटिसकेको छ  आज, जहाँ आफ्नो प्रतिविम्व खोज्दै गरेको कोही बालक देखिँदैन ।

अहिलेका बालबालिका त पूरै मोवाइलमा खुम्चिसकेका छन् । के बुझुन तिनीहरुले यो चोकको महत्व ? मलाई किन किन यो चोकको सारै माया लाग्छ, यही चोकमा बसेर घाम तापेर आमाको सुकोमल हातबाट तेल लगाएको छु । यहीँ एउटा पुरानो घरको आँखिझ्यालका कैयन आँखासित नजिकै गएर आँखा जुधाएको छु । यहीँको इनारमा प्यास लाग्दा कैयनपटक पानी खाएको छु ।

आज यो चोकको स्वरुप फेरिएको छ । आज यो चोकबाट ‘चोक’ हराइसकेको छ । पुराना घरको ठाउँमा नयाँ सिमेन्टका घरहरु उम्रिसकेका छन् । यो चोकमा जीवन विताएकाहरु प्नि आज कोही कता छ त कोही कता । यो त भयो प्रतिनिधि चोकको एक कथा । नेपालका गाउँहरुमा यस्ता चोकहरु लाँखौ होलान् । जस्ले बालक्रिडाको निम्ति आफ्नो छाती टेकाए । हजारौँ इनार होलान्, जस्ले बालबालिकाको निम्ति सदैव आमाले जस्तै आफ्नो ममतालु छाती रसाए ।

मलाई लाग्छ, विश्वको जुनसुकै कुनामा रहेका हामी सकल नेपालीको जीवनमा यस्तै यस्तै चोक जोडिएको हुनुपर्छ । चोक नै नभए पनि गाउँकै एउटा यस्तो स्मरणीय विम्व त अवश्य जोडिएकै हुनुपर्छ । हामी सवै आज विकासका ठूल्ठूला कुरा गछौँ । काठमाडौँमा बसेर, समृद देशको नारा लगाउँछौँ । तर विकासको सुभारम्भ, यस्तै सानो एक चोकमा गमला राखेर, गमलामा एक थुँगा फूल रोपेर गर्ने हो । विकास त आफ्नै गाउँको सानो चोकबाट शुरु गर्नुपर्छ । आफ्नो भावना भन्दा परको देश उचालेर छातीमा राख्ने यत्न नगरौँ । देशको भावना, गुरुले सानो हुँदा सिसाकलमले पानामा लेखिदिएको मानचित्रको साइजमा छैन । देश विराट छ । यही देशमा हजारौँ मानिसले अटसमटस पेट खाएर डकारिरहेको बेला, लाखौँ मानिसले भोकले पेट थिचिरहेका छन् । तर चोकभित्रका पच्चीस, तीस मानिसको ओठमा हामीले सजिलै मुस्कान सल्बलाउन सक्छौं ।यदि कोही ठूलै नेता जो देश विकासको ठेक्का लिएको छ, उस्ले देशको लागि के गर्न सक्छ भनेर हेर्ने हो भने, उस्को बाल्यकाल बितेको चोकमा गएर हेरे पुग्छ । यदि उस्को चोक दयनीय छ भने त्यो नेताले देशको लागि केही गर्नेवाला छैन । जस्ले आफ्नै बाल्यकाललाई धोका दिएको छ उस्ले कस्लाई साथ देला र ? यसैले विकासको सुरुवात गरौँ, आफ्नै चोकबाट । सुरुमा आफ्नै चोकको वरिपरि गमलाहरु सजाऔँ । गमलामा विभिन्न प्रजातिका फूलहरु रोपौँ । चोकबाट गाउँ, गाउँबाट देशको निम्ति उत्सर्ग गर्ने हो । आफ्ना पुराना भावनालाई आँसुका दुईथोपा समर्पण नगरी, हामी आफ्नो गाउँको निम्ति केही पनि गर्न सक्दैनौँ । आज झिलिभिली शहरमा बसेर, झुत्रो त्यो गाउँलाई मेरो गाउँ हो भन्न पनि लाज मान्नेहरु आमाको फाटेको पछयौरीको प्वालबाट थुतुनो छिराएर स्तनपान गरेर कुल्ला गर्ने शिशुसमान हुन् । अव बेला आएको छ, आफ्नो चोकको निम्ति, गाउँको निम्ति केही गर्ने । सबैले थोरै भए पनि आ–आफ्नो चोक सजाऔँ । यस्तै टुक्रा–टुक्रा सज्जामा, सिङ्गो गाउँ सजिएर, सिङ्गै देश आफै सजिन्छ ।