समाचार

११ जना को ज्यान लिंदै सकियो यो सिजनको सगरमाथा आरोहण

काठमाडौं । सगरमाथा आरोहणको सिजन सकिएको छ । यो वर्षको सिजनमा विभिन्न देशका ११ जना पर्वतारोहीले ज्यान गुमाएका छन् । सोमबार पनि सिखर चुमेर फर्किने क्रममा क्रिस्टोफर जोन कुलिस नामका एक जना अमेरिकी वकिलको निधन भए पछि मृत्यु हुनेको संख्या ११ पुगेको हो । नेपाल सरकारले यो सिजनमा झण्डै ६ सय जनाले सगरमाथाको आरोहण गरेको जनाएको छ । आधार शिविरमा रहेका सरकारी सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले सिजनमा झण्डै ६ सय जनाले सगरमाथाको शिखर चुमेको बताए । सोमबार अन्तिम दिन २० आरोही शिखर पुगेको उनले जानकारी दिएका छन् ।
आरोहणका लागि अनुमति लिएका आरोही र उनीहरुलाई सहयोग गर्ने शेर्पासमेत सगरमाथाको शिखरमा पुग्ने भएकाले यकिन संख्या पत्ता लाग्न नसकेको बताईएको छ । श्रेष्ठका अनुसार वैशाख ३१ गते बाटो बनाउने आठ जना शेर्पा सगरमाथाको शिखरमा पुगेपछि आरोहण शुरु भएको थियो । औपचारिक रुपमा ३ सय ८१ जनाले अनुमति लिएर सगरमाथाको आरोहणका लागि शिखरतर्फ गएका थिए । ४४ समूहमा अनुमति लिएका आरोही र उनीहरुका सहयोगीसमेतले शिखर आरोहण गरेका थिए ।
हिउँ पग्लिने क्रम शुरु भएको छ । हिउँ पग्लिन थालेपछि शिविरमा आवतजावतमा समेत समस्या हुन्छ । सबै शिविरमा हिउँ पग्लिने भएकाले अब आरोहण गर्न समस्या हुन्छ । विगतमा वर्षहरुमा मे २९ सम्म मौसम अनुकूल हुन्थ्यो । तर, यस पटक मे २७ मै आरोहणका लागि समस्या भएको श्रेष्ठको भनाइ छ । जलवायु परिवर्तनका कारणले गर्दा पछिल्ला वर्षमा हिउँ चाँडै नै पग्लिन थालेको छ ।
सगरमाथा आरोहणको यो सिजनमा नेपाली आरोही कामिरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको रेकर्ड राखे भने विभिन्न उट्पट्याङ हर्कत गर्ने आरोहीले शिखरमा हस्तमैथुन समेत गरेको दाबी गरेका छन् । तर, सरकारले त्यस्ता रेकर्डलाई मान्यता नदिने भएको छ । त्यति मात्र होइन आरोहणमा लैजाने त्यस्ता प्रकारका एजेन्सी र आरोहीलाई समेत कारबाही गरिने संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ ।
सगरमाथामा रकेर्ड बनाउने नाममा अमर्यादित क्रियाकलाप गर्नेविरुद्ध सरकारले कडा कारबाही गर्ने मन्त्रालयअन्तर्गतको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताइन् । सरकारले सामाजिक सञ्जाल र विभिन्न समाचार एजेन्सीमा आएका विवरण संकलन गर्ने र दोषी आरोहीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । आफूखुसी रेकर्ड राख्ने नाममा हरेक वर्ष दर्जनौं व्यक्ति सगरमाथाको आधार शिविर पुग्ने गरेका छन् ।
आरोहणका विषयमा सरकारले छलफल गरेर एउटा निष्कर्ष सार्वजनिक गर्ने आचार्यको भनाइ छ । व्यक्तिले घोषणा गरेका आफूखुसी विश्व कीर्तिमानका विषयमा भने सरकारले कुनै चासो दिएको छैन् । गलत रेकर्ड राखेको दावी गर्ने व्यक्तिलाई प्रतिबन्ध लगाइने छ । सरकारले सगरमाथालाई व्यापारको थलो बनाउने प्रयास गरिएको भन्दै नियन्त्रणको प्रयास थालिसकेको जनाएको छ । पछिल्लो समय यस्ता रेकर्डलाई सरकारले मान्यता दिन छाडेको छ ।
यो सिजनमा ट्राफिक जाम र हस्तमैथुनको चर्चा संसारभर भएको छ । कामिरीताको कीर्तिमानलाई नै छायाँमा पार्ने ट्राफिक जामको तस्वीरसमेत गैरकानुनी भएको मन्त्रालयले जनाएको छ । आरोही निर्मल पूर्जाले लिएको तस्वीरमा शिखरमा सयौं मान्छेको जाम भएको देख्न सकिन्छ । तर, संसारभर यो तस्वीरलाई जामका कारण मानिसको मृत्यु भएको भनेर व्याख्या गरिएको छ । पर्वतारोहणसम्बन्धी नियमावलीअनुसार कुनै पनि तस्वीर वा भिडियो सार्वजनिक गर्नुपूर्व सम्पर्क अधिकृतलाई जानकारी गराउनुपर्छ ।
सोमबारदेखि नै आधार शिविरमा रहेका पाल निकाल्ने काम शुरु भएको छ । एक दुई दिनमै सबैजसो शिविरबाट फर्किनेछन् । यो सिजनमा अहिलेसम्मकै धेरै व्यक्तिले आरोहण गरेका छन् । आरोहणको इतिहासमा एक वर्षमा झण्डै ६ सय जनाले आरोहण गरेको यो पहिलो पटक हो । यो संख्या आरोहणका लागि अनुमति लिएका व्यक्ति, शेर्पा र सहयोगीसमेत जोडेर हो ।