समाचार

नेपाली काँग्रेसका सांसद आलम पक्राऊ

काठमाडौं

१२ बर्षमा खोलो फर्कियो । आइतबार बिहान १२ वर्ष अघिको बमकाण्डको आरोपितमध्ये एक वहालवाला सांसद् मोहम्मद अफताब अलाम पक्राउ परेका छन् । उनी नेपाली काँग्रेसको तर्फबाट रौतहट २ का प्रतिनिधि सभा सदस्य हुन् ।

आलक किन पक्राउ परे ?

पहिलो संविधानसभा निर्वाचन अघिको धेरैले बिर्सिसकेको एउटा अत्याशलाग्दो बम विस्फोट प्रकरणको आरोपित मध्य एक भएको आरोपमा उनी पक्राउ परेका हुन् ।प्रहरीको अनुसन्धान फाइल थन्किएको अवस्थामा थियो । अभियोजनकर्ता निकायले प्रहरी प्रतिवेदन थन्क्याएको थियो ।

घटना यस्तो थियो ।

२०६४ चैत्र २७ गते भएको बमकाण्डको घटना धेरैले बिर्सिसकेको छ । रौतहटको तत्कालीन राजपुरफरहदवास्थित शेख सदिकको छोरा मोहम्मद अफताब आलमको काकाको घरमा बम विस्फोट हुँदा पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तरको मृत्यु भएको थियो । उक्त घटना नियोजित रहेको परिवारको दाबी भने कायमै थियो ।

परिवारको दाबी थियो कि बुथ कब्जाका लागि बम विस्फोट गराई तर्साउने योजना अनुसार बम बीचमै पड्किएको थियो । घाइते भएका सिंह र अख्तरलाई घटना चुहिने डरले इँटा भट्टामा जलाएर हत्या गरिएको थियो ।

उक्त घटनापछि पीडित परिवारले प्रहरीमा जाहेरी दियो। तर, दर्ता भएन । जाहेरी दर्ता नभएपछि हुलाकमार्फत जाहेरी पेस भयो। जाहेरीका आधारमा प्रहरीले अनुसन्धान प्रतिवेदन तयार पार्‍यो । प्रतिवेदन सरकारी वकिललाई बुझाईयो । यद्यपी जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउन प्रमाण नपुगेको निर्णय गर्‍यो। जिल्लाको निर्णय तत्कालीन पुनरावेदन सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ता कार्यालयले २०६५ असारमा सदर गर्‍यो ।

सरकारी वकिलले मुद्दा नचल्ने निर्णय गरेपछि पीडित परिवारले सर्वोच्चमा रिट दायर गरेको थियो। सर्वोच्चले ०६९ सालमा महान्यायाधिवक्ता कार्यालयको निर्णय बदर गर्दै घटना अनुसन्धानका लागि आदेश गरेको थियो । आदेश पाएको सात वर्ष बितिसक्दा पनि प्रहरीले सांसद आलमलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न हिम्मत गरेको थिएन।

तर गत असार ६ गते सर्वोच्च अदालतले एउटा आदेश जारी गर्‍यो। जुन आदेशले प्रहरीमा तरङ्ग पैदा गरिदियो। अदालतले ३० दिनभित्र घटना अनुसन्धानबारे जानकारी गराउन आदेश दिएको थियो। साथै मासिक रूपमा प्रगति विवरण माग गरेको थियो। उक्त आदेशमा अदालतले अपहेलनामा कारबाहीको चेतावनी पनि दियो। आदेशपछि प्रहरीले अनुसन्धान अघि नबढाई सुखै पाएन।

प्रदेश २ का प्रहरी प्रमुख प्रद्युम्न कार्कीले अदालतको आदेश अनुसार नै अलामलाई पक्राउ गरिएको बताए । कार्कीले भने ‘अदालतको आदेश अनुसार हामीले नियन्त्रणमा लिएका हौँ। थप अनुसन्धान भइरहेको छ।’

पूर्वमन्त्री समेत रहेका आलम प्रहरीले खोजी सूचीमा थिए। २०६४ चैत २७ गते राजपुरमा भएको विस्फोटमा २३ जनाको ज्यान गएको थियो। तर, घटनाको लामो समयसम्म राजनीतिक शक्तिको आडमा अलाम अनुसन्धानको दायरामा आएका थिएनन् ।

आलमको पक्राउ पछि धेरैले ढिलै भएपनि राज्यले न्यायको बाटो समातेको प्रतिकृया गरेका छन् भने कतिले अब राजनीति कारण दिएर दबाईएका पुरानो अपराधिक मुद्दाहरु पनि पुनराबृत्ति हुने बताएका छन् ।