फिचर

मंगलबारदेखि काठमाडौंमा एनआरएनए विश्व सम्मेलन, अध्यक्षमा पन्त र आचार्य भिड्दै

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन काठमाडौंमा मंगलबारबाट प्रारम्भ हुँदैछ । बिहीबारसम्म चल्ने यस सम्मेलनले नयाँ नेतृत्व चयन गर्दैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मलेन उद्घाटनको तयारी भइरहेको छ । सम्मेलन बिहीबार समाप्त हुनेछ ।

चुनावी सम्मेलन भएका कारण पनि अहिले काठमाडौंमा गैरआवासीय नेपालीहरुको सरगर्मी बढीरहेको छ ।

आगामी कार्यकालका लागि अध्यक्षसहित १२ पदका लागि ४२ जनाले उम्मेदवारी दिदैँछन् । निर्वाचनको कार्यक्रम बुधबारका लागि राखिएको छ ।

संघका अनुसार ८१ देशबाट करिब दुई हजार पाँच सय प्रतिनिधि विश्व सम्मेलनमा भाग लिन काठमाडौंमा भेला भएका छन् ।

आगामी कार्यकालका लागि अध्यक्ष पदका लागि हालका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यबीच भिडन्त हुँदैछ ।

संघले सोमबार पत्रकार सम्मेलन गरी विश्व सम्मेलनको तयारी पुरा भएको जानकारी गराएको छ । पन्तको प्यानलमा उपाध्यक्षमा केशव पौडेल, नरेन्द्र भाट, रविना थापा र मन केसी रहेका छन् ।

आचार्य प्यानलमा भने महासचिवमा जानकी गुरूङ र कोषाध्यक्षमा सोम सापकोटा रहेका छन् । पर्वतका आचार्य बेलायतको लण्डन निवासी हुन् । उनी हस्पिटालिटीमा जमेका व्यवसायी हुन् ।

गोरखाका पन्त भने जर्मनी निवासी हुन । उनी पनि आतिथ्य सेवाबाटै उदायका व्यवसायी हुन् । उनले यूरोपका विभिन्न मुलुकमा होटेल खोलेका छन् ।

गैरआवासीय नेपालीहरु विश्व सम्मेलनलाई एक उत्सवका रुपमा मनाउने गर्छन् ।

यस दौरान घरमा पनि आफन्तसँग भेटघाट हुने, चाडबाड समेत मनाइने र सम्मेलनमा पनि भाग लिने गरी धेरै गैरआवासीय नेपाली स्वदेश फर्किएका छन् ।