फिचर

न्यूयोर्कमा युएनए सम्मेलन सम्पन्न

कल्पना घिमिरे
न्यूयोर्क

युनाइटेड नेप्लिज एसोसिएसन (युएनए)को चौथो सम्मेलन न्यूयोर्कमा सम्पन्न भएको छ । बिभिन्न पेशा, ब्यवसाय र अध्ययनका शिलशिलामा अमेरिकामा रहने सम्पूर्ण नेपाली समुदाय बिच उच्च स्तरको समझदारी र एक्यवद्धता कायम गर्नुपर्नेमा सम्मेलनले बिशेष जोड दिएको छ ।
गत शनिबार न्युयोर्कको लगौडिया प्लाजा होटलमा भएको सम्मेलनमा नेपालीहरुको उलेख्य उपस्थिति रहेको थियो । सम्मेलनमा एनआरएन अभियन्ता शेष घले, ब्यवसायी जमुना घले, उर्जा, जलश्रोत तथा सिचाई मन्त्रि मन्त्री बर्षमान पुन लगायतको सहभागिता थियो ।
अमेरिकामा बसेका बिभिन्न जातजाती, पेशा, वर्गका व्यक्तिलाई समेटिएर गठन गरिएको यस संस्थाले अमेरिकामा बस्ने नेपालीलाई अमेरिकी समाज संग एकाकार गराउदै लैजाने मुल अभियान लिएको छ ।
यो संस्थाले छोटो समयमा नै नेपाली अमेरिकी नेपाली समाजका बिभिन्न संस्थालाई समेट्दै गएको देखिन्छ । अमेरिकामा बसेर सफल उद्यमीको पहिचान बनाउन सफल सोनाम लामाले उक्त संस्थाको स्थापना गरेका हुन् । संस्थाले स्थापना यता प्रत्येक वर्ष सम्मेलन गर्दै आएको छ ।
कार्यक्रममा प्रमुख अतिथीका रुपमा उर्जा, जलश्रोत तथा सिचाई मन्त्री बर्षमान पुन लाई नेपालबाट आमन्त्रण गरिएको थियो । सम्मेलनमा भाग लिनका लागि मन्त्री पुनसंगै पत्नि तथा पूर्व सभामुख ओनसरी घर्तीमगर पनि अमेरिका आइपुगेकी हुन् ।
कार्यक्रमको पूर्वसन्यामा शुक्रबार राती रात्रीभोजको आयोजना गरिएको थियो । एनआरएका पूर्व अध्यक्ष शेष घले, उनकी पत्नि उद्यमी ब्यवसायी जमुना घले, अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्की, एनआरएन आइसीसीका उपाध्यक्ष कुमार पन्त, युएनएका संस्थापक पासांग लामा, सम्मेलन संयोजक सोनाम लामा, बाल्टिमोर राज्यका सांसद ह्यारी भण्डारी, गायिका इन्दिरा जोशी, पूर्वमिस नेपाल युनिभर्स मनिता देवकोटा लगायतको उपस्थिति थियो ।
बिभिन्न सांस्कृतिक झाँकीबाट सुभारम्भ गरिएको कार्यक्रमको पहिलो दिन बिभिन्न खेलकुद प्रतियोगिता सहित समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रमहरु गरिएको थियो । जसमा शैलेश श्रेष्ठको संयोजकत्वमा गैर नाफामुलक संस्थाहरुको कानुनी तथा लेखा परिक्षण सम्बन्धी चुनौती, अवसर कानुनी दायरा सम्बन्धमा कानुन ब्यवसायी गिरिजा गौतम र कर बिज्ञ बिराज रिजालसंग अन्तरक्रिया गरिएको थियो । अर्को सत्रमा एनआरएनएका पूर्व अध्यक्ष शेष घले, युएनएका संस्थापक पासाङ लामा, एनएनआरए अभियन्ता सूर्य लम्सालको सहभागीतामा युवा सशक्तीकरण सम्बन्धी विषयमा अन्तरक्रिया गरिएको थियो ।
यसै गरी दोश्रो दिनको सत्रमा महिला शसक्तिकरण राष्ट्रसंघमा युवा अभियानकी अभियन्ता जोली अमात्य र महिला उद्यमी नम्रता बरालसंग अन्तरक्रिया गरिएको थियो । अमेरिकामा बस्ने युवा विद्यार्थीलाई लक्षित गरिएको सम्मेलनमा सकारात्मक खेलकुद प्रतियोगिता, बक्तृतवकला प्रतियोगिता, स्पेलिङ कन्टेस्ट, ध्यान शिबिर, डिजे नाइट तथा सकारात्मक सोच सम्बन्धी बिभिन्न विषयका प्रस्तुती हरु रहेका थिए ।
खेलकुद प्रतियोगितामा फुटबल तर्फ प्रथम हुने समुहलाई ३ हजार अमेरिकी डलर बराबरको पुरस्कार राखिएको थियो भने भलिबलमा प्रथम हुनेहरुलाई २ हजार अमेरिकी डलरको पुरस्कार बितरण भएको थियो ।
एनआरएन अभियन्ता शेष घलेले सफलताका लागि हरेक पाइलाहरु चुनौतीपूर्ण हुने बताएका थिए । अमेरिकाका लागि नेपाली राजदूत कार्कीले अमेरिकामा बसेर नेपालको राजनीति नगर्न सुझाव दिएका थिए । यसैगरी गायिका इन्दिरा जोशी, लगायतको प्रस्तुती र सञ्चारकर्मी हरीशरण लामिछानेको नेपालको ऐतिहासिक घटनामा आधारित बृत चित्र ‘कथा नालापालीको’ पनि प्रदर्शन गरिएको थियो । सम्मेलन दुई दिन सम्म चलेको थियो ।