समाचार

५ किलो सुन समातियो

खाँदबारी, संखुवासभा

प्रहरीले संखुवासभाको भोटखोला गाउँपालिकाबाट ५ किलोग्राम सुनसहित एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीटोलीले भोटखोला गाउँपालिका–२ लिङ्गमबाट खाँदबारी नगरपालिका–१ बस्ने २६ वर्षका तोप्चेन भोटेलाई पक्राउ गरेको हो ।

स्थानीय चेपुवा प्रहरी चेकपोष्टको टोलीले चेकजाँच गर्ने क्रममा तोप्चेनले बोकेको झोलामा सुन र नगद भेटिएपछि पक्राउ गरेको थियो । प्रहरीले उनको साथबाट पाँच किलोग्राम सुनसहित नगद ३८ हजार ८० रुपैयाँ र केही चिनियाँ मुद्रा समेत बरामद गरेको जनाएको छ। उनी पक्राउ परेकाे स्थान भोटेखोला –२ लिङ्गम सदरमुकाम खाँदबारीबाट तीन दिनको पैदल दूरीमा पर्छ।

पक्राउ परेका भोटेलाई सदरमुकाम खाँदबारी ल्याउदै ल्याइएको छ। बरामद भएको सुन चीन, भारत वा नेपाली बजार कता लैजान लागिएको हो भन्ने खुल्न नसकेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी मिनबहादुर लामाले बताएका छन् । उनलाई सदरमुकाम ल्याइएपछि थप अनुसन्धान गरिने प्रहरी स्रोतले जानकारी दिएको छ।