खेलकुद

नेपाललाई जोर्डनले हरायो, विश्वकप छनोटका अवे खेल सकिए

काठमाडौं । नेपाललाई बलियो प्रतिस्पर्धी जोर्डनले विश्वकप छनोट प्रतियागिताअन्तर्गत भएको खेलमा पराजित गरेको छ ।

मंगलबार जोर्डनको घरेलु मैदानमा सम्पन्न खेलमा नेपाललाई ३ गोलको अन्तरले हराएको हो । नेपालले भने कुनै गोल गर्न सकेन ।

जोर्डनसँगको खेलसँगै अब नेपालले विश्वकप छनोटका ४ खेल खेलेको छ । यी चारवटै खेल अवे हुन् ।

नेपालले घर भित्र अब ४ वटा खेल खेल्नेछ । अवे खेलमा भने तीन खेलमा नेपाल पराजित भयो । एक खेलमा जीत निकाल्न सफल भएको छ । नेपाल अष्ट्रेलिया, कुवेत र जोर्डनसँग हार्यो ।

चाइनिज ताइपेलाई भने पराजित गर्न सफल भयो । मंगलबार अम्मान अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपालले पहिलो हाफ बराबरी खेलेको थियो ।

निकै राम्रो डिफेन्स गर्दै जोर्डनको निरन्तरको आक्रमण विफल पारेको नेपालले दोस्रो हाफमा भने ३ गोल खान पुग्यो ।

खेलको ५६औं मिनेटमा फिरास शालबयाले पेनाल्टीमार्फत गोल गरे । ७८औं मिनेटमा अहमद इर्सान र ८८औं मिनेटमा बाहा फइसलको गोलमार्फत नेपाल तीन गोलले हार्न पुगेको हो ।

पाँच टोली सहभागी समूह बीमा नेपाल चार खेलबाट ३ अकं बटुल्दै चौथो स्थानमा रहेको छ । अब चार वटा खेल खेल्न बाँकि रहेको छ ।