विश्व

राष्ट्रपति आज म्यानमार भ्रमणमा निस्कदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारदेखि म्यान्मारको राजकीय भ्रमण शुरु गर्दैछिन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति बुधबार म्यानमार जाने कार्यक्रम तय भएको छ ।

म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा ३ कात्तिकसम्म उनले म्यानमारको राजकीय भ्रमण गर्न लागेकी हुन् ।

बुधबार थाइल्याण्डको बैंकक हुँदै म्यान्मारको राजधानी नेपित जाने कार्यक्रम तय भएको छ । भ्रमणका अवसरमा राष्ट्रपति भण्डारी र समकक्षी मिन्तबीच द्धिपक्षीय हितका विषयमा वार्ता हुने बताइएको छ ।

सोही अवसरमा म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु चीबीच समेत भेटवार्ता तय भएको छ । राष्ट्रपति भण्डारीको स्वागतमा समकक्षी मिन्तले राजकीय भोज आयोजना गरेका छन् ।

उक्त मुलुकमा नेपाली मुलकका नागरिक समेत प्रशस्त बस्छन् । उनीहरुसँग समेत भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले बताएको छ ।

राष्ट्रपति भण्डारीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी सहभागी हुँदैछन् ।