कला / साहित्य

अनिश्चित भविष्य

भीमनारायण श्रेष्ठ / काठमाडौं 

 

जतिसुकै उनले थिचोमिचो अनि

अन्याय अत्याचार गरे पनि

मैले आदर सत्कार गरी

जहाँ जतिबेला भेट्दा पनि

दुई हात जोडी नमस्कार गर्दै हिँड्थें म

 

अझ

उनका साथमा लाग्ने

अगुवा पछुवाहरूलाई पनि

नमस्कार गर्न भ्याउँथे म

उनीहरूले नमस्कार फर्काओस् वा नफर्काओस्

मतलव राख्दिन म

नमस्कार गर्न पाएकोमा

खुशीले गद्गद् हुँदै

रमाउँदै टाउको हल्लाउँदै

अघि बढ्थें म

 

किनकी,

मेरो छ एउटा सदिच्छा

मेरा पूर्खाको सपना पूरा गर्ने

सुन्दर मनमोहक बगैंचा बसाल्ने

जसमा सयौं जातका रङ्गीचङ्गी

करौडौं फूलहरू अट्ने

छ वटै ऋतुमा ढकमक्क फुल्ने

ताल तलैयाको कमी नहुने

राजहाँस र रङ्गीविरङ्गी पुतली खेल्ने

चिरविर चिरविर चराचुरुङ्गी रमाउने

कोइली मधुर स्वरमा कुहुकुहु गाउने

झरझर झरनाको शीतल ताप्ने

एउटा सुन्दर बाग बर्गैचा बनाउने

मेरा पुर्खाको सपना साकार पार्ने

 

मेरा सामु

त्यही सपना साकार पार्न

कम्मर कसी उभिएका तिनलाई

मेरो बलबुत्ताले भ्याएसम्म

भुईं नै भास्सिने गरी थामी

पैताला देखिको बल खिँची

मेरै काँधमा चढाई उकासेका तिनी

मेरै सामुन्ने तिनको छायाँमा पनि

म आफैमा कति गर्व गर्थे

मनमनै गौरवान्वित हुन्थें

खुशीले गद्गद् हुँदै

दुई हात जोडी नमस्कार गर्थें

 

अनि,

“हजूर कता सवारी ?

आराम हुनुहुन्छ ?” भनी सवाल गर्थें

किनभने,

मेरा पूर्खाको सपना साकार पार्ने

आधारशीला भेट्टाएकोमा

अझ उनले

कालोलाई सेतो

सेतोलाई कालो पार्न सक्ने

चाहेमा दिनलाई रात

रातलाई पनि दिनमा

परिवर्तन गर्न सक्ने

सर्वाधिकार छ तिनमा

 

त्यसैले

कोही कोही त वाध्यतावस पनि

नमस्कार गर्न पुग्थे

नमस्कार गर्ने बानी परेको मलाई

नमस्कार गर्दा गर्दै

बाटामा कुकुर, सुँगुर, गधा भेटिए पनि

नमस्कार गर्दै हिँड्थे म

आजभोली त मलाई

त्यही नमस्कारले पोल्छ, पिरोल्छ

कहिले काँही त

आफै माथि पनि रिस उठ्छ

म आफैलाई धिक्कार्छु

जानी नजानी मैले

नमस्कार गर्ने बानी बसालेकोमा

तिनलाई सर्वोपरी ठान्ने गल्ती गरेकोमा

किनभने

तिनी त

आफूलाई सर्वोत्कृष्ट ठानी

सर्वाधिकार मुठ्ठीमा राखी

आफ्नो स्वार्थमा तल्लिन रहे

त्यसैले अहिले

उनलाई नमस्कार गर्नु सट्टा

बाटामा भेटिने गधा कुकुरलाई

नमस्कार गर्नु नै बेस ठान्छु

किनकी

तिनले मालिकको सेवा त गरेका छन्

 

यिनले त

मेरा पूर्खाको सपना साकार पार्छु भनी

सुन्दर भविष्यको रेखा कोर्न गएका

भविष्य त कता हो कता

वर्तमान नै लठालिङ्ग भताभुङ्ग पार्दै

साराका सारा  चलन प्रचलन

बालापनको खेल झैं सम्झी

मख्ख पर्ने यी रक्त पिपाशूले

भविष्य हाम्रा सुनिश्चित पार्ला कसरी

पूर्खाको सपना साकार पार्ला कसरी

 

त्यसैले

आजभोली त मलाई

तिनको अनुहार देख्दैमा पनि

उदेक लाग्दै घिनलाग्छ

बहुला कुकुर आफूलाई ताक्दै

अघि बढी रहे जस्तो लाग्छ

लाग्छ अहिले त मलाई

बहुला कुकुरलाई झैं

टाढैबाट ढुङ्गाले हानी

लखेटी लखेटीकन सीमा

कटाई दिउँ झैं लाग्छ

हजूर…

नमस्कार ॥