फिचर

'सी छिङलाई माइतिमा स्वागत'

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियूक्त भएकी चर्चित चिनिया अभिनेत्री सी छिङलाई ‘तपाईलाई मावलीमा स्वागत छ’ भन्दा उनले हासो थाम्न सकिनन् ।

लजालु स्वभावमा उनी मुस्कुराइन् । मख्ख शैलीमा उनले हासेको देखेर उपस्थित आयोजक तथा पत्रकार समेत मख्ख परे ।

प्रत्युत्तरमा अभिनेत्री सी छिङले भनिन्, ‘नेपाल–चीनबीच सुमधुर सम्बन्ध छ । बुद्ध जन्मेको देशले मनाउन लागेको नेपाल भ्रमण वर्षमा सद्भावना दूत हुन पाउँदा निक्कै खुसी छु, भन्यबाद् ।’
नेपाली चेली भृकुटीले चिनिया नागरिक सम्राट श्रङचङसंग विवाह गरेको प्रसंग कोट्याउँदै मन्त्री भट्टराईले अभिनेत्री छिङलाई भान्जीको संज्ञा दिएका हुन् ।

मन्त्री भट्टराईले सद्भावना दूत घोषणा कार्यक्रममा भने, ‘नेपाल भ्रमण वर्षले आजदेखि नयाँ फड्को लिने अपेक्षा गरेको छु । अव गुणात्मक फड्को मार्छ भन्ने अपेक्षा गरेको छु । चीनमा मात्रै होइन विश्वमै ख्याती कमाइसक्नु भएकी छिङले नेपालबारे पक्कै पनि दुई शब्द बोल्नु हुनेछ ।’

टोली सहित नेपाल आएकी अभिनेत्री छिङसंग नेपाल भ्रमण वर्ष २०२० सचिवालयले आज औपचारिक कार्यक्रम गरी सद्भावना दूतको प्रमाणपत्र हस्तान्तरण गरेको छ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्री योगेश भट्टराई, नेपाल भ्रमण वर्ष २०२० संयोजक सुरज बैध, नैपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी लगायतको सहभागिता रहेको थियो ।

नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले चिनिया अभिनेत्री छिङ चीनमा मात्रै नभएर विश्वमै चर्चित भएको बताए । केही दिन पहिले आफू दक्षिण कोरियामा हुदा समेत उनको चर्चा सुनेको बताए ।

नेपाल भ्रमण वर्ष एउटा इभेन्ट मात्रै नभएर देशको मेरुदण्ड भएको उनको भनाई थियो । आर्थिक विकासको पाटोमा पर्यटनले ठूलो अर्थ राख्ने धारणा उनको थियो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पनि छिङलाई नेपालमा स्वागत गर्दै शुभकामना दिए ।